१५ पुस, काठमाडौं । सडक बोर्ड नेपालले सडक मर्मत कोषमा उठेको रकम सोही प्रयोजनमा विनियोजन गर्न अर्थ मन्त्रालयसँग माग गरेको छ । बोर्डका अनुुुसार सो कोषमा वर्षेनी २० अर्ब रकम उठ्ने गर्दछ । सोमध्ये मन्त्रालयले बोर्डलाई ४ अर्ब रुपैयाँ मात्रै विनियोजन गर्दै आएको छ । बोर्डले अहिले २ सय १७ नगरपालिका र ७३ जिल्ला प्राविधिक कार्यालयमार्फसो रकम विनियोजन गर्दै आएको छ ।
सडक मर्मत तथा सम्भार गर्ने उद्देश्यले सडक बोर्ड ऐन २०५८ अनुसार बोर्ड स्थापना भएको हो । बोर्डको १५ आँै स्थापना दिवसका अवसरमा शनिवार आयोजित कार्यक्रममा बोर्डका कार्यकारी निर्देशक कृष्णसिंह बस्नेतले सडक मर्मत कोषमा उठेको रकम सोही प्रयोजनमा विनियोजन गर्न अर्थमन्त्रालयसँग माग गरे ।
दिइएको जानकारीअनुसार सडक मर्मतमा लगानी गर्दा दोहोरो बचत हुने सरोकारवालाहरूले बताएका छन् । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायरले सडक पूर्वाधार विकास र समृद्धिको आधार भएकाले यसको पूर्वाधारमा सरकारले लगानी बढाउँदै गएको बताए ।
राज्यमन्त्री सीतादेवी गुरुङले सडक मर्मतमा लगानी बढाउन आवश्यक भएकोमा जोड दिँदै गुणस्तरीय सडकले आर्थिक समृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन् । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा स्वर्णीम वाग्लेले नेताको आँगन र बारी छोएर सडक जाने प्रथा अन्त्य गरी नयाँ सडकसँगै मर्मतलाई पनि एथेष्ट रकम विनियोजन गर्ने परिपाटी बसाल्नु पर्ने बताए ।
सांसद रवीन्द्र अधिकारीले समयमा सडक निर्माण सम्पन्न नहुने परिपाटीलाई अन्त्य गर्नु पर्ने र पहुँचका आधारमा भन्दा आवश्यकता अनुसार सडक बनाउनु पर्नेमा जोड दिए । अर्का सांसद गगनकुमार थापाले सडक विस्तारमा रकम विनियोजन हुने तर मर्मतमा रकम नपर्ने परिपाटी अन्त्य गर्न जोड दिए ।
प्रधानमन्त्रीका प्रमुख आर्थिक सल्लाहकार ज्ञानचन्द्र आचार्यले आर्थिक रुपान्तरणका लागि सडक पूर्वाधारमा लगानी बढाउनुपर्ने आवश्यक रहेको बताए । रासस

प्रतिक्रिया