५ पुस, जाजरकोट ।
जिल्लामा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका घरटहरा हटाउन शुरु गरिएको छ । सदरमुकामको बजार क्षेत्रभित्र सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका घरटहरा हटाउन शुरु गरिएको हो ।
अतिक्रमण गरिएका घरटहरा आफैँ हटाउन पटक–पटक गरेको सूचना अटेर गरेपछि जिल्ला वन कार्यालयले हटाउन शुरु गरेको हो । अतिक्रमणकारीले सदरमुकामको बजार क्षेत्रभित्र सार्वजनिक जग्गा तथा वन क्षेत्र अतिक्रमण गरेर ३०० घरटहरा निर्माण गरेका छन् । उनीहरुले पक्की घरसमेत निर्माण गरेका छन् ।
पहिलो चरणमा मंगलबारदेखि बजारको मुख्य स्थान भेरी नगरपालिका ३ थाप्लेचौरमा निर्माण गरिएका टहरा हटाउन थालिएको छ । अतिक्रमण गरिएका घरटहरा हटाउन शुरु गरिएको जिल्ला वन अधिकृत उपेन्द्र पटेलले जानकारी दिए । अतिक्रमणकारीलाई वन ऐनअनुसार कारबाही गर्ने उनले बताए ।
भेरी नगरपालिकाले समेत अतिक्रमित घरटहरा हटाउन सूचना जारी गरेको छ । जिल्ला वन कार्यालयसंग समन्वय गरेर नगर क्षेत्रभित्र अतिक्रमण गरी बनाएका सबै घरटहरा हटाइने नगरप्रमुख चन्द्रप्रकाश घर्तीले बताए ।
रासस
प्रतिक्रिया