Logo

गाउँपालिकाद्वारा आपत्कालीन कोष स्थापना



५ पुस, बाबियाचौर– म्याग्दी ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले गर्भवती र सुत्केरी महिलाका लागि प्रत्येक वडामा कोष स्थापना गरेको छ । गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनको अध्यक्षतामा मंगलबार पोखरेबगरमा बसेको गाउँ कार्यपालिकाको बैठकले प्रत्येक वडामा कोष स्थापनाका लागि एक एक लाख उपलब्ध गराउने निर्णय गरेको छ ।

आठवटै वडामा अप्ठ्यारोमा परेका गर्भवती, सुत्केरी महिला र गरिब विपन्नको उपचारमा सहयोग गर्नका लागि कोष स्थापना गर्न पहिलो चरणमा एक एक लाख उपलब्ध गराउने निर्णय भएको गाउँ कार्यपालिकाका प्रवक्ता तथा वडा नं ६ का अध्यक्ष कृष्णप्रसाद बरुवालले जानकारी दिए ।

कार्यविधि बनाएर कोषबाट सुत्केरी हुनका लागि स्वास्थ्य संस्था तथा अस्पताल पुग्न नसक्ने गरिब विपन्न वर्गका महिलालाई यातायात खर्चबापत सहयोग गरिने प्रवक्ता बरुवालले बताए । बैठकले गाउँपालिकाका विभिन्न योजनाका लागि बजेटसमेत विनियोजन गरेको छ ।

हिस्तान–राम्चे सडक स्तरवृद्धिका लागि ५० लाख विनियोजन भएको छ । चित्रेदेखि पर्यटकीयस्थल घोडेपानी जोड्ने सडक निर्माणका लागि १० लाख विनियोजन गरेको छ । उक्त योजनाका लागि ६ नं वडा कार्यालयले यसअघि पाँच लाख विनियोजन गरेको थियो ।

नारच्याङको बेँसी गाउँदेखि लेकगाउँ जोड्ने सडकको ट्रयाक खोल्न २० लाख विनियोजन भएको छ । म्याग्दी उद्योग वाणिज्य संघको मूल आयोजनामा बेनीमा सञ्चालन हुने छैटौँ म्याग्दी महोत्सवलाई दुई लाख विनियोजन गरेको गाउँपालिकाले पुस ८ गते भुरुङ तातोपानीमा आयोजना गरिएको निःशुल्क मुटुरोग शिविरका लागि एक लाख उपलब्ध गराउने निर्णय गरेको छ ।

प्रत्येक वडाका महिला र दलित समुदायको क्षमता तथा नेतृत्व विकाससंगै सशक्तीकरणका लागि चेतनामूलक कार्यक्रम गर्न दुई लाख ४० हजार विनियोजन गरेको छ । अपांगता परिचयपत्र वितरणका लागि पुस २१ र २२ गते गाउँपालिकाको केन्द्र पोखरेबगरमा घुम्ती शिविर सञ्चालन गर्ने भएको छ ।

महिला तथा बालबालिका कार्यालय र जिल्ला स्वास्थ्य कार्यालयसंग समन्वय गरेर शिविर सञ्चालनका लागि एक लाख विनियोजन गरेको छ । हालसम्म अपांगता परिचयपत्र प्राप्त गर्न नसकेका गाउँपालिकाका सबै वडाका अपांगता भएका नागरिकलाई लक्षित गरेर शिविर सञ्चालन गरिने प्रवक्ता बरुवालले जानकारी दिए ।
रासस

प्रतिक्रिया दिनुहोस्