१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पोखरीमा डुङ्गा सञ्चालन गरेर पर्यटक आकर्षित गर्दै जमुनावासी



२ पुस, इलाम ।
स्थानीयको सक्रियतापछि इलामको सन्दकपुर गाउँपालिका ५ स्थित जमुनाको ढाप पोखरीमा डुङ्गा सञ्चालन गरिएको छ । पर्यटकीय गतिविधि बढाउँदै पर्यटक आकर्षित गर्ने उद्देश्यले पोखरीमा दुई वटा डुङ्गा चलाउन थालिएको हो ।

पोखरीको संरक्षण र व्यवस्थापन गर्दै आएको चन्द्रपाल थेबे ढाप सिमसार संरक्षण तथा पर्यटन विकास समितिले डुङ्गा सञ्चालन गर्न थालेको हो ।

यो पोखरी स्थानीयको पर्यटन विकासप्रतिको मोह र सक्रियताका कारण निर्माण थालिएको दुई वर्षभित्रमै आकर्षक गन्तव्यका रूपमा विकास भएको छ । क्षेत्रफलको हिसाबले जिल्लाकै ठूलो मानिएको यो पोखरी ५० रोपनीमा फैलिएको छ ।

“डुङ्गामार्फत पोखरीको सबै क्षेत्र घुम्न आधा घण्टाभन्दा बढी समय लाग्छ” समितिका अध्यक्ष युवराज भट्टराईले भने, “यस क्षेत्रमा पोखरीमा डुङ्गा सयर गर्न स्थानीयसंगै टाढाबाट पनि रमाइलो गर्न आउने क्रम बढ्दो छ ।” पोखरीमा डुङ्गा सञ्चालनमा ल्याइएपछि दैनिक ५० जनादेखि १०० जनासम्म आन्तरिक पर्यटक आउन थालेको अध्यक्ष भट्टराईले बताए ।

दलदल र सिमले भरिएको उपत्यका जस्तो क्षेत्रको पूर्वी मोहोडामा बाँस, हिलोमाटो र डुङ्गाको बाँध बनाएर काम थालिए पनि अहिले मजबुत ड्याम बनाइएको छ ।

ढापपोखरी पुग्ने पर्यटकका लागि स्थानीयवासीले होमस्टे सञ्चालन गर्ने तयारी गरेका छन् । पोखरीमा माछापालन शुरू भएपछि आगन्तुकलाई थप आकर्षणको केन्द्र भएको छ । तराईमा पाइने सारस लगायत विभिन्न चराचुरूङ्गीसमेत पोखरीमा आउने क्रम बढेको छ ।

पोखरी आसपास लोपोन्मुख सुनगोहोरो र विभिन्न प्रकारका सुनाखरी पाइन्छ । पोखरी निर्माणका लागि मेची पहाडी क्षेत्र पर्यटन प्रवर्द्धन विकास समिति इलाम, जिल्ला भूसंरक्षण कार्यालयले सहयोग गरेका छन् ।
रासस

प्रकाशित मिति : २ पुस २०७४, आइतबार ००:००