१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कास्कीमा ७७ जना उम्मेदवारको जमानत जफत



२९ मंसिर ।
पोखराः मंसिर २१ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा कास्कीका ७७ जना उम्मेदवारको जमानत जफत भएको छ । कूल १८ राजनीतिक दल र तीन स्वतन्त्र गरी ९५ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रकोमा वाम गठबन्धनका नेकपा एमाले, नेकपा माओवादी केन्द्र तथा नेपाली कांग्रेसका १८ जना उम्मेदवारले मात्रै जमानत फिर्ता पाउनेभएको क्षेत्रीय निर्वाचन कार्यालयका सूचना अधिकारी तेजबहादुर गुरुङले जानकारी दिए ।

प्रतिनिधिसभाका तीन र प्रदेशसभाका नौ निर्वाचन क्षेत्र रहेको जिल्लामा राप्रपा, राप्रपा प्रजातान्त्रिक, नयाँशक्ति, विवेकशील साझा पार्टी, संघीय समाजवादी फोरम, देशभक्त जनतान्त्रिक मोर्चा, राष्ट्रिय जनमोर्चा लगायतका राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले खसेको सदर मतको १० प्रतिशत ल्याउन नसकेकाले जमानत जफत भएको हो ।

वाम गठबन्धनबाट नेकपा एमालेले प्रतिनिधिसभाका तीन, प्रदेशसभाका तीन र माओवादी केन्द्रले प्रदेशसभामा तीन तथा लोकतान्त्रिक मोर्चाबाट नेपाली कांग्रेसका उम्मेदवारले प्रतिनिधिसभा र प्रदेशसभाका सबै सिटमा उम्मेदवारी दिएका थिए ।

प्रदेशसभा क्षेत्र नं २ ख मा नेपाली कांग्रेसका उम्मेदवार विजयी भए भने अन्य सबै क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारले जितेका थिए । जिल्लाको कूल दुई लाख ५५ हजार ४५२ हजार मतदाता रहेकोमा निर्वाचनमा एक लाख ८० हजार ५७३ मत खसेकोमा एक लाख ७३ हजार ३१२ मत सदर भएको थियो ।

उदयपुरमा समानुपातिकतर्फ कांग्रेस पहिलो

गाईघाट— उदयपुरः प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उदयपुरमा नेपाली कांग्रेसले सबैभन्दा बढी मत प्राप्त गरेको छ । कांग्रेसले ४० हजार ९४७ मत प्राप्त गरी पहिलो भएको हो । नेकपा एमालेले ३६ हजार ८१२ र नेकपा माओवादी केन्द्रले १८ हजार ४७७ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालय उदयपुरले जनाएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा १८ हजार ८८६ मत बदर भएको सो कार्यालयले जनाएको छ ।
रासस

प्रकाशित मिति : २९ मंसिर २०७४, शुक्रबार ००:००