२८ मंसिर ।
गौशालाः महोत्तरी जिल्लामा मंसिर २१ गते सम्पन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा १८० उम्मेदवारको जमानत जफत भएको छ ।
निर्वाचन अधिकारी पिंकी रायका अनुसार जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भाग लिएका २१३ उम्मेदवारमध्ये १८० जनाको जमानत जफत भएको हो ।
कूल खसेको सदर मतको १० प्रतिशत मत नल्याउने उम्मेदवारको जमानत जफत हुने कानूनी व्यवस्था बमोजिम जिल्लामा सम्पन्न निर्वाचनमा पूर्व सांसद चन्देश्वर झासहित १८० जनाको जमानत जफत भएको छ । पूर्व सांसद झाले महोत्तरी ३ नं क्षेत्रबाट प्रतिनिधिसभा निर्वाचनमा राजपाको बागी भएर स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
निर्वाचन अधिकारी रायका अनुसार प्रतिनिधिसभा सदस्यतर्फ निर्वाचन क्षेत्र नं १ मा ९, क्षेत्र नं २ मा १६, क्षेत्र नं ३ मा १८ र क्षेत्र नंम्बर ४ मा १६ जनाको जमानत जफत भएको हो ।
त्यस्तै प्रदेशसभा सदस्यतर्फ निर्वाचन क्षेत्र नं १ को क मा आठ, ख मा १२, क्षेत्र नं २ को क मा पाँच, ख मा १९, क्षेत्र नं ३ को क मा ११, ख मा ३०, क्षेत्र नं ४ को क मा १५ र ख मा २१ जनाको जमानत जफत भएको छ । जमानत जफत हुनेमा ३६ जना स्वतन्त्र र बाँकी अन्य दलका उम्मेदवार छन् ।
सल्लेरी— सोलुखुम्बुः प्रतिनिधि तथा प्रदेशसभा सदस्यका लागि सोलुखुम्बुबाट उम्मेदवार बनेकामध्ये विजेता र उपविजेताबाहेक सबैको जमानत जफत भएको छ । सोलुखुम्बुबाट १८ जना प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि उम्मेदवार बनेकामा १२ जनाको जमानत जफत भएको छ ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ अनुसार उम्मेदवार बनेका १८ मध्ये १२ जना उम्मेदवारले निर्वाचन ऐनअनुसारको मत ल्याउन नसक्दा जमानत जफत भएको हो । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ को उपदफा १ बमोजिम जम्मा सदर मतको १० प्रतिशतभन्दा कम मत ल्याउने उम्मेदवारको धरौटी जफत हुने व्यवस्था रहेकोमा सो व्यवस्थाअनुसार १२ जना उम्मेदवारले मत ल्याउन नसक्दा जमानत जफत भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय सोलुखुम्बुका सहायक निर्वाचन अधिकृत मुरारी वस्तीले जानकारी दिए ।
जमानत जफत हुनेमा प्रतिनिधिसभा सदस्यतर्फ पाँच, प्रदेशसभा क को एक स्वतन्त्रसहित चार र प्रदेशसभा ख को तीन गरी १२ जना उम्मेदवार रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय सोलुखुम्बुले जनाएको छ । एक प्रतिनिधिसभा र दुई प्रदेशसभा निर्वाचन क्षेत्र रहेको सोलुखुम्बुमा तीनै ठाउँ वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् भने निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेस रहेको छ । प्रतिनिधिसभामा वाम गठबन्धनबाट माओवादी केन्द्र, नेपाली कांग्रेस, नयाँ शक्ति पार्टी, संघीय समाजवादी फोरम नेपाल, मंगोल नेशनल अर्गनाइजेशन, नेमकिपा र राजपाका उम्मेदवार थिए भने प्रदेश सभा क मा वाम गठबन्धबाट नेकपा एमाले, नेपाली कांग्रेस, नयाँ शक्ति पार्टी नेपाल, संघीय समाजवादी फोरम नेपालसहित एक स्वतन्त्र उम्मेदवारले चुनावमा भाग लिएका थिए ।
यस्तै प्रदेशसभा ख मा वाम गठबन्धनबाट नेकपा एमाले, नेपाली कांग्रेस, नयाँ शक्ति पार्टी नेपाल, संघीय समाजवादी फोरम र राजपाका उम्मेदवारले भाग लिएका थिए । ६९ हजार ४११ कूल मतदाता रहेको सोलुखुम्बुमा जम्मा ४१ हजार ४५१ मत खसेको थियो । खसेको जम्मा मतमध्ये प्रनितिधिसभा प्रत्यक्षतर्फ एक हजार ८८६ समानुपातिकतर्फ चार हजार ६४९ मत बदर भएको सहायक निर्वाचन अधिकृत वस्तीले जानकारी दिए ।
यस्तै प्रदेशसभा क मा ३७ हजार १५९ मतदातामध्ये २१ हजार ९५९ मत खसेको थियो भने प्रत्यक्षतर्फ ८४७ र प्रदेशसभा ख मा ३२ हजार २५२ मतदातामध्ये १९ हजार ४९२ मत खस्दा ७४३ मत बदर भएको छ । यस्तै समानुपातिकतर्फ दुवै क्षेत्रका गरी ६ हजार ७६३ मत बदर भएको सहायक निर्वाचन अधिकृत वस्तीले बताए ।
रासस
प्रतिक्रिया