६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टीकापुर घटनाका अभियुक्त चौधरी विजयी



२६ मंसिर, धनगढी ।
टीकापुर घटनाका अभियुक्त रेशमलाल चौधरी कैलाली निर्वाचन क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यमा ३४ हजार ३४१ मत प्राप्त गरी विजयी भएका छन् । बिहान घोषणा गरिएको अन्तिम मत परिणाम अनुसार चौधरीले आफ्ना निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धनकी मदनकुमारी शाह गरिमा लाई २० हजार ९३५ मतको फराकिलो अन्तरले पराजित गरेका हुन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी शाह १३ हजार ४०६ र तेस्रो स्थानमा रहेकी कांग्रेस उम्मेदवार ईश्वरी न्यौपानेले ११ हजार २०३ मत प्राप्त गरे । प्रतिनिधिसभा सदस्यका लागि प्रदेश नं ७ मा यति ठूलो मतान्तरले विजयी हुने राजपा नेपालका चौधरी पहिलो भएका छन् । चौधरीले वारेसमार्फत मनोनयनपत्र दर्ता गराएका थिए ।

दुई वर्षअघि भएको टीकापुर काण्डपछि प्रहरीको फरार सूचीमा रहेका चौधरी भारतमा बस्दै आएका छन् । हिंसात्मक टीकापुर घटनामा एक नाबालक र आठ प्रहरीको हत्या भएको थियो । चौधरीले सामाजिक सञ्जाल र भिडियो क्लिपको प्रयोग गरेर आफ्ना समर्थकलाई चुनावी प्रचारमा परिचालन गरेका थिए । निर्वाचित चौधरीको प्रमाणपत्र तथा शपथ लिने विषयमा कानूनी व्यवस्था निर्वाचन आयोगको निर्णयबमोजिम हुने मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद अर्यालले बताए ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विनोद घिमिरेले अभियुक्त चौधरीलाई भेटिएमा पक्राउ गरिने जानकारी दिए । “भेटिए भने कानूनबमोजिम उनी पक्राउ हुन्छन् र अदालतमा पेश हुन्छन्,” घिमिरेले भने ।

प्रमाणपत्र हस्तान्तरण गर्न असहज

विजयी चौधरीलाई विजयी प्रमाणपत्र हस्तान्तरण गर्न सहज अवस्था नभएको निर्वाचन अधिकृत खिमानन्द भुसालले बताए । “विजयी भएको प्रमाणपत्र बुझ्न भनी उहाँकी श्रीमती र आफन्त बिहान कार्यालयमा आउनुभएको थियो” भुसालले भने “कानूनी व्यवस्थाबारे उहाँहरुलाई जानकारी गराएर फर्काइदिएँ ।”

विजयी हुनेले आफैँ कार्यालयमा उपस्थित भएर विजयी भएको प्रमाणपत्र बुझ्नुपर्ने, उपस्थित हुन नसकेमा घरठेगानामा प्रमाणपत्र पठाउनुपर्ने र प्रमाणपत्र पनि पठाउन नसक्ने अवस्था देखिएमा प्रमाणपत्र आयोगलाई हस्तान्तरण गरिने भुसालले बताए ।

प्रदेशमा चौधरी र डा रावल

निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा क मा राजपाकै कृष्णबहादुर चौधरी १२ हजार १८४ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका जनकराज चौधरीले नौ हजार ३०८ मत प्राप्त गरे । प्रदेशसभा ख तर्फ कांग्रेसका डा रणबहादुर रावल नौ हजार ४३४ मतले विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका नेपबहादुर चौधरीले आठ हजार ९०६ मत प्राप्त गरे ।

यता विवादका कारण निर्वाचन क्षेत्र नं २ को मतगणना रातिदेखि स्थगन भएको छ । मतदान अधिकृतले उपलब्ध गराएको मतको तथ्यांकभन्दा मतपेटिकामा केही मत कम फेला परेपछि विवाद भएको निर्वाचन अधिकृत शिवहरि पौड्यालले बताए । विवाद समाधानको प्रयास भइरहेको छ ।
रासस

प्रकाशित मिति : २६ मंसिर २०७४, मंगलबार ००:००