११ बैशाख २०८१, मंगलबार | Tue Apr 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कैलाली ३ र ४ मा वाम गठबन्धन विजयी



२५ मंसिर, धनगढी ।
कैलालीको निर्वाचन क्षेत्र नं ३ र ४ को प्रतिनिधिसभा सदस्यको निर्वाचनमा वाम गठबन्धन विजयी भएको छ । सोमबार बिहान सार्वजनिक गरिएको मत गणनाको अन्तिम नतिजाअनुसार निर्वाचन क्षेत्र नं ४ मा माओवादी केन्द्रका नेता लेखराज भट्ट ३१ हजार ३५९ मत प्राप्त गरी विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुनिलकुमार भण्डारीले २० हजार ९६० मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रदेशसभा क मा एमालेका जिल्ला अध्यक्ष दीर्घ सोडारी १६ हजार १५५ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका यज्ञराज चौधरीले ११ हजार ४२५ मत पाए ।

यस्तै प्रदेश सभा ख मा एमालेका कृष्ण सुवेदी १६ हजार २२ मतले विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका हीरादत्त भट्टले ११ हजार ८०३ मत प्राप्त गरे ।

निर्वाचन क्षेत्र नं ३ को प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रका गौरीशंकर चौधरी २४ हजार ८७९ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रामजनम चौधरीले २० हजार ४९४ मत प्राप्त गरे । विसं २०४६ को परिवर्तन यता भएका निर्वाचनमा विजयी हुँदै आएका कांग्रेस नेता रामजनमको यो निर्वाचनमा विजयी यात्रा रोकिएको छ ।

प्रदेशसभातर्फ ख मा एमालेका अमरबहादुर साउँद ११ हजार ८७७ मतसहित विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी कांग्रेसका लक्ष्मणबहादुर शाहीले सात हजार ४९२ मत पाएका छन् ।

प्रदेश सभा क को गणना अन्तिम चरणमा पुगेको छ । यो क्षेत्रमा वाम गठबन्धनका प्रत्यासी मत गणनमा अगाडि रहेका छन् । यसअघि आइतबार नै कैलाली निर्वाचन क्षेत्र पाँचको प्रतिनिधिसभा सदस्यको अन्तिम नतिजा घोषणा भइसकेको छ ।

यो क्षेत्रमा एमालेका नारदमुनी राना विजयी हुँदा कांग्रेस नेत्री डा आरजु राणा देउवा पराजित भएकी छन् । निर्वाचन क्षेत्र नं १ को मतगणना अन्तिम चरणमा पुगेको छ । निर्वाचन क्षेत्र नं २ को मतगणना जारी रहेको छ ।
रासस

प्रकाशित मिति : २५ मंसिर २०७४, सोमबार ००:००