Logo

झिलमिला ताल हेर्ने भ्यू टावरको सम्भाव्यता अध्ययन



२१ मंसिर, कञ्चनपुर ।
कञ्चनपुरको भीमदत्त नगरपालिका ९ मटेनाको चुरे क्षेत्रमा पर्ने झिलमिला तालको मनोरम दृश्य नियाल्नका लागि ताराकोटमा भ्यू टावर निर्माणका लागि सम्भाव्यता अध्ययनको कार्य अगाडि बढाइएको छ ।

भ्यू टावर निर्माणका लागि भीमदत्त नगरपालिकाले नियुक्त गरेको परामर्शदाताले सम्भाव्यता अध्ययनको कार्य शुरु गरेको छ । नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले झिलमिला ताल हेर्नका लागि पुग्ने पर्यटकलाई दृष्यावलोकन गर्न सहजता प्रदान गर्नका लागि ताराकोटमा भ्यू टावर निर्माणका लागि सम्भाव्यता अध्ययनको कार्य अघि बढाइएको बताए ।

पर्यटकलाई दृष्य अवलोकनका लागि टावर निर्माण गर्न लागेका छौँ, नगर प्रमुख विष्टले भने, “त्यसका लागि अहिले काठमाडौँको परामर्शदाताले प्रारम्भिक सम्भाव्यता अध्ययन शुरु गरेको छ ।” सम्भाव्यता अध्ययनको कार्य पूरा भएपछि निर्माणको कार्य प्रारम्भ गरिने उनले बताए ।

भीमदत्त नगरपालिकाको पहिलो नगरसभाबाट भ्यू टावरका लागि बजेट विनियोजन गरिएको थियो । चुरेमा पर्ने झिलमिला तालमा आउने पर्यटक र भक्तजनलाइ लक्षित गरी भ्यू टावर बनाउन लागिएको हो । दिनभरि तीनथरि रङ बदल्ने झिलमिला ताल धार्मिक पर्यटनको केन्द्रका रुपमा रहेको छ ।

नगरपालिकाले यस वर्ष झिलमिला तालसम्म कालोपत्रे सडक निर्माणको कार्य समेत अघि बढाएको छ । नगरपालिकाको शहरी विकास कार्यक्रम अन्तर्गत सडक कालोपत्रेका लागि ठेक्का दिइएको छ ।

नगरप्रमुख विष्टले झिलमिलासम्म निर्माण हुने पक्की सडकले झिलमिलाको पर्यटन विकासमा टेवा पुग्ने बताए । भीमदत्त नगरपालिकाका अध्यक्ष राम नाथले झिलमिलासम्म पक्की सडक बनेपछि पर्यटकीय क्षेत्रका रुपमा विकास हुने बताए ।
रासस

प्रतिक्रिया दिनुहोस्