१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निर्वाचनलाई लक्षित गरी सीमा नाका सिल



१९ मंसिर, विराटनगर ।
आगामी मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई मध्यनजर गर्दै मंगलबार बिहानदेखि नेपाल–भारत सीमासंग जोडिएका मोरङका सीमा नाका सिल गरिएको छ ।

यही बिहीबार हुने निर्वाचन शान्तिपूर्ण ढङ्गले सम्पन्न गर्ने उद्देश्यले भारतसंग जोडिएको मोरङको ४२ किलोमिटर सीमा नाकालाई सिल गरिएको प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले जानकारी गराएका छन् ।

नेपाल र भारतमा हुने गरेको निर्वाचनमा दुवै सीमावर्ती क्षेत्रका प्रशासनिक अधिकारीहरुले आपसी छलफलमा सीमानाका सिल गर्ने गरिन्छ ।

इलाम– यसैगरी सोही निर्वाचनलाई मध्यनजर गर्दै भारतसंग सीमा जोडिएका इलामका सीमा नाकाहरू पनि ७२ घण्टाका लागि बन्द गरिएको छ ।

सुरक्षालाई मध्यनजर गर्दै गएराति १२ बजेदेखि मंसिर २१ गते राति १२ बजेसम्म ७२ घण्टाका लागि सीमा बन्द गरिएको जिल्ला सुरक्षा समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोखरेलले बताए ।

निर्वाचनका समयमा सीमा क्षेत्रबाट कुनै पनि अप्रिय घटना नहोस् भनेर निर्वाचन अवधिभरका लागि सीमा नाका बन्द गरिएको उनले बताए ।

उनका अनुसार जिल्ला सुरक्षा समितिले अहिले निर्वाचनलाई भयरहित र निष्पक्ष कसरी बनाउन सकिन्छ भन्ने उद्देश्यले सुरक्षा समितिमा छलफल भइरहेको र सुरक्षा रणनीति पनि तयार पारिएको छ ।

इलामका प्रमुख सीमा नाकाहरू पशुपतिनगर, छब्बिसे, मानेभञ्ज्याङ, तुम्लिङ, सन्दकपुर लगायतका क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ । नेपाल प्रहरी तथा सशस्त्र प्रहरी सीमा क्षेत्रमा तैनाथ छन् ।

सीमा क्षेत्रमा लागुऔषध नियन्त्रण, मदिरा निषेध, हातहतियार ओसारपसार, आपराधिक गतिविधि, चोरी तस्करीलगायतका घटना हुन नदिन विशेष निगरानी बढाइएको सुरक्षा समितिले जनाएको छ ।

इनरुवा– यस्तै, दोस्रो चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि गएराति १२ बजेबाट सुनसरीको नेपाल–भारत सीमा नाका पनि बन्द भएको छ ।

दुई मुलुकका सीमा सुरक्षा पदाधिकारीको बैठकमा गरिएको सहमतिअनुसार मंसिर २१ गते साझ ६ बजेसम्मका लागि जिल्लासंग जोडिएका सबै सीमा क्षेत्र बन्द गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले जानकारी दिए ।

उनका अनुसार त्यस अवधिभर जिल्लाका कोशी ब्यारेजदेखि केसलीसम्मको ६२ किलोमिटर सीमा नाका बन्द गरिएको हो । सीमा नाका बन्द भएपछि सीमा क्षेत्रबाट सबै साना र ठूला सवारी साधन र पैदलयात्रीको आवागमनमा समेत बन्देज भएको छ ।
रासस

प्रकाशित मिति : १९ मंसिर २०७४, मंगलबार ००:००