१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महोत्तरीमा प्रतिष्ठाको लडाइँ



१७ मंसिर, गौशाला ।
महोत्तरी क्षेत्र नं २ मा नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी नेपालबीच प्रतिष्पर्धा हुने देखिएको छ । कांग्रेसबाट किरण यादव र राष्ट्रिय जनता पार्टी नेपालबाट सो पार्टीका अध्यक्ष मण्डलका सदस्य शरतसिंह भण्डारी उम्मेदवार छन् । दुवैजनाबीच प्रतिष्ठाको लडाइँ जारी छ । यादव संविधानसभाको पहिलो निर्वाचनमा समानुपातिकतर्फ तथा संविधानसभाको दोस्रो निर्वाचनमा क्षेत्र नं २ बाट प्रत्यक्षतर्फ निर्वाचित भएका हुन् ।

सुखदुःखमा साथ दिनुका साथै विकास निर्माण गरेका कारण आफ्नो जित सुनिश्चित रहेको यादव बताउछन् । राष्ट्रिय जनता पार्टी नेपालका भण्डारी विगतका निर्वाचनमा महोत्तरीको अलगअलग क्षेत्रबाट चुनाव लडेका कारण आफू सहजै विजयी हुने कांग्रेस उम्मेदवार यादवको दाबी छ । भण्डारी संविधानसभाको दोस्रो निर्वाचनमा क्षेत्र नं १ र क्षेत्र नं ६ बाट चुनाव हारेका थिए ।

तर राजपा नेपालका उम्मेदवार भण्डारी भने आफू आफ्नै क्षेत्रबाट चुनाव लडेको बताउछन् । राजपा नेपाल र संघीय समाजवादी फोरम नेपालबीच चुनावी तालमेल भएकाले आफू विजयी हुने उनी दाबी गर्छन् ।

क्षेत्र नं २ बाटै वाम गठबन्धनका कासिम अन्सारी उम्मेदवार छन् । उनले आफू एमाले र माओवादी केन्द्रको संयुक्त उम्मेदवार रहेकाले भारी मतले विजयी हुने बताउछन् ।

यस्तै, क्षेत्र नं ३ मा राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर, राजपा नेपालकै बागी उम्मेदवार चन्देश्वर झा र वाम गठबन्धनका विजयकुमार चौधरीबीच त्रिपक्षीय प्रतिष्पर्धा हुने अनुमान गरिएको छ ।

ठाकुर मधेशलाई अधिकार सम्पन्न, विभेदबाट मुक्ति, न्यायोचित सम्मान र विकासका लागि आफू लड्दै आएका कारण विजयी हुने बताउछन् । उनले मतदातालाई प्रदेश नम्बर २ मा मधेशी सरकार बनाएर आफ्नो विशेष पहिचान कायम गर्न आग्रह गरेका छन् । महोत्तरीका जनताले बोलाएका कारण आफू सर्लाही छाडेर आएरको ठाकुरको भनाइ छ । राजपा नेपालको समर्थनमा कांग्रेसले समेत उम्मेदवारी फिर्ता लिएका कारण उनी आफ्नो जितमा ढुक्क छन् ।

स्वतन्त्रबाट चुनाव जितेका पूर्व सांसद झा राजपा नेपालले आफूलाई टिकट दिने प्रलोभन देखाउँदै पार्टी प्रवेश गराएको तर टिकट नदिई आफ्नो राजनीति सखाप पार्न खोजेको आरोप लगाए । “यहाँको मतदाताले पुनः मलाई जिताउनेमा ढुक्क छु,” उनले भने । विसं २०७० को संविधानसभा निर्वाचनमा क्षेत्र नं ४ बाट झा स्वतन्त्रका रुपमा चुनाव जितेका हुन् ।

वाम गठबन्धनका उम्मेदवार चौधरी यसअघिको निर्वाचनमा एमालेले नै जितेकाले यसपटक पनि आफू जित्ने बताउछन् । उनले वाम गठबन्धनकै कारण सो क्षेत्रबाट सबैभन्दा बढी मतान्तरले विजयी हुने दाबी गरे ।
रासस

प्रकाशित मिति : १७ मंसिर २०७४, आइतबार ००:००