१० चैत्र २०८०, शनिबार | Sat Mar 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मतदाता खेतीमाः उम्मेदवार मतदाता फकाउने कसरतमा



नवीनबाबु अधिकारी
१३ मंसिर, सिन्धुली ।
यही मंसिर २१ गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि नेता तथा कार्यकर्ता गाउँघरमा पुग्दा अधिकांश मतदाता खेतीपातीमा व्यस्त छन् ।

उनीहरु पाकेको धान भित्र्याउने र अन्य बाली लगाउन व्यस्त छन् । अबको एक साताभित्र मतदातालाई फकाउन नसके निर्वाचनमा जीत हासिल गर्न नसक्ने भन्दै मतदातालाई घर तथा खेतबारीमा नै भेटी गाउँको विकासमा लाग्ने प्रतिबद्धता उम्मेदवारले व्यक्त गरिरहेका छन् ।

जिल्लाका दुई नगरपालिका र सात गाउँपालिकामा अहिले उम्मेदवारले चुनावी गतिविधि बढाएका छन् । उनीहरु दैनिक सात किमीभन्दा बढी पैदल हिँडी चुनावी सभामार्फत मतदातालाई फकाउने प्रयासमा छन् । भौगोलिक विकटता र मतदाता बालीनाली लगाउन व्यस्त हुँदा उम्मेदवारले भने घरदैलो गर्नसमेत नभ्याउने भएका छन् ।

स्थानीय तहको निर्वाचनपछि मौन बनेका दलका नेता तथा अहिलेका उम्मेदवार गाउँको विकास र समृद्धिका लागि लाग्ने प्रतिबद्धताका साथ गाउँ उक्लिएका छन् । लोकतान्त्रिक गठबन्धन अन्तर्गत नेपाली कांग्रेसबाट निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रेमचन्द्र दाहाल, क्षेत्र नं १ क प्रदेशसभा सदस्य पदका उम्मेदवार गंगा गिरी, ख प्रदेशसभा सदस्य पदका उम्मेदवार श्याम घिमिरे घरदैलो कार्यक्रम तथा आमसभामा व्यस्त छन् ।

त्यस्तै निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नरेन्द्रजंग थापा, निर्वाचन क्षेत्र नं २ क प्रदेशसभा सदस्यका उम्मेदवार माणिक ढकाल, ख प्रदेशसभा सदस्य पदका उम्मेदवार छेत्रबहादुर पनि घरदैलो कार्यक्रममा व्यस्त छन् ।

वाम गठबन्धनलाई पनि चुनाव प्रचारप्रसारलाई तीव्र पार्दै मत माग्न भ्याइनभ्याई छ । वाम गठबन्धनले संयुक्त रुपमा आमसभा गर्दै आएका छन् । आमसभामा निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार गणेश पहाडी, निर्वाचन क्षेत्र नं १ क प्रदेशसभा सदस्यका उम्मेदवार लेखनाथ दाहाल र निर्वाचन क्षेत्र नं १ ख प्रदेशसभा सदस्यका उम्मेदवार प्रदीप कटुवाल पनि चुनावीसभामा सम्बोधन गर्न र घर दैलो कार्यक्रममा व्यस्त छन् ।

यस्तै निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार हरिबोल गजुरेल, निर्वाचन क्षेत्र नं २ क प्रदेशसभा सदस्यका उम्मेदवार विनोद खड्का र निर्वाचन क्षेत्र नं २ ख प्रदेशसभा सदस्यका उम्मेदवार बुद्धिमान माझी पनि घरदैलो तथा आमसभामा व्यस्त छन् । जिल्लाका सबै तहमा चुनावी प्रचारप्रसारलाई दलका कार्यकर्ताले व्यापक बनाए पनि मतदातामा स्थानीय तहको निर्वाचनमा जस्तो उत्साह देखिएको छैन । किसान अहिले अन्न तथा नगदेबाली लगाउन व्यस्त छन् । खेत जोत्ने, डल्ला फुटाउने, मल बोक्ने, आलु लगाउने र अर्मपर्म गर्न किसान व्यस्त छन् ।

यस्तै तीनपाटन गाउँपालिका २ की शोभा माझी चुनावका बेला मात्र नारा लिएर घर घर धाउनुभन्दा पनि पराजित भएर पनि जनहितमा काम गरिरहे उम्मेदवारले मत माग्नु नपर्ने बताइन् । चुनावका बेला सदैव आश्वासन मात्र पाइएको उनको भनाइ छ । सर्वोपरि हितमा ख्याल गरी विकासका कार्यसूची बनाउने उम्मेदवार छान्न नसके गाउँका दुःख सदैव जिउँदै रहने उनको भनाइ छ ।

सिन्धुलीमा प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि नयाँ शक्ति पार्टी नेपाल, नेकप माले, नेकपा माक्र्सवादी, संघीय समाजवादी फोरम नेपाल, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी र जनसमाजवादी पार्टी नेपालले उम्मेदवारी दर्ता गराएका छन् ।
रासस

प्रकाशित मिति : १३ मंसिर २०७४, बुधबार ००:००