८ चैत्र २०८०, बिहिबार | Thu Mar 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘विराटनगरलाई धुलोमुक्त बनाउ’



८ मंसिर, विराटनगर ।
मोरङका छ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये तीनवटा निर्वाचन क्षेत्रसंग जोडिएका विराटनगरका मतदाताले सबैभन्दा बढी सडक निर्माणको मागलाई अघि सारेका छन् ।

‘सुख्खामा धुलाम्मे र वर्षामा हिलाम्मे’ अवस्थाबाट आजित विराटनगरका मतदाता यस कठिनाइबाट कहिले मुक्त हुन पाइन्छ भन्दै उम्मेदवारसंग प्रश्न गर्दैआएका छन् ।

मोरङको छ वटा प्रतिनिधिसभाको निर्वाचन क्षेत्रमध्ये क्षेत्र नं ४, ५ र ६ प्रतिनिधिसभा क्षेत्रमा विराटनगरका मतदाता पर्छन् । क्षेत्र नं ४ मा ९९ हजार १२३ मतदातामध्ये विराटनगरको १, २, ३, ८, १० र १९ वडाका गरी ४१ हजार ४७ मतदाता छन् ।

त्यसैगरी, क्षेत्र नं ५ मा कूल ८९ हजार २८७ मतदातामध्ये विराटनगरको १३ देखि १८ नं वडासम्मका २९ हजार ४०२ तथा क्षेत्र नं ६ मा कूल एक लाख १० हजार ३२२ मतदातामध्ये विराटनगरको ५२ हजार ८८३ मतदाता रहेका छन् ।

यी तीनवटै संसदीय क्षेत्रका उम्मेदवारको हारजितमा विराटनगरका मतदाता उलटफेर गर्ने क्षमता राख्छन् । त्यस्तो अवस्थामा पनि ऐतिहासिक नगरी विराटनगर यतिखेर धुलोले ढाकिएको अवस्थामा छ । सो कारणले विराटनगरका मतदाताले उम्मेदवारसमक्ष पहिलो प्राथमिकतामा यहाँको धुलो र हिलोबाट मुक्त हुने माग राख्दैआएका छन् ।

विराटनगरका मतदाता माधव अधिकारी सफा विराटनगर, धुलो र हिलोमुक्त विराटनगर सबैको साझा माग रहेको बताउछन् ।

करिब तीन अर्बको लगानीमा विराटनगरको ढल, सडक, नाला र प्रशोधन केन्द्र स्थापनाका लागि एशियाली विकास बैंकको ८१ प्रतिशत अनुदान, ११ प्रतिशत नगरविकासको ऋण र आठ प्रतिशत विराटनगर महानगरपालिको लगानीमा ६२ किमी पक्की ढल तथा ६५ किमी सडकलाई कालोपत्र गर्ने लगायतका काम थालिएको हो ।

सन् २०१३ डिसेम्बर २ सम्झौता भई २०१६ मईमा निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता भएको थियो । निर्धारित समयमा काम सम्पन्न गर्नका लागि सिटिसिई–कालिका कम्पनीलाई ठेक्का दिइएको थियो ।

निर्धारित समयमा काम सम्पन्न हुन नसकेपछि निर्माणका लागि अवधि थप गरिएको छ । तर, सुस्त गतिले काम भइरहेकाले थपिएका समयमा पनि काम सम्पन्न हुने सम्भावना नदेखिएपछि उम्मेदवारसंग मतदाताले प्रतिबद्धता माग गरिरहेका छन् ।
रासस

प्रकाशित मिति : ८ मंसिर २०७४, शुक्रबार ००:००