१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चितवन क्षेत्र नं ३ को लोकतान्त्रिक गठबन्धनको प्रतिबद्धता पत्र सार्वजनिक



८ मंसिर, चितवन ।
चितवन क्षेत्र नम्बर ३ बाट लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार रहेका वन तथा भू–संरक्षण मन्त्री विक्रम पाण्डेले आफ्नो चुनावी प्रतिबद्धता सार्वजनिक गरेका छन् ।

चितवन क्षेत्र नम्बर ३ समृद्ध बनाउने अभियान लोकतान्त्रिक गठबन्धनलाई ‘अमूल्य मतदान’ भन्ने नाराका साथ सोही क्षेत्रका प्रदेशसभा सदस्य दिनेश कोइराला र साजनकुमार महतोको समेत प्रतिबद्धता रहने गरी १८ बुँदे साझा प्रतिबद्धता सार्वजनिक गरिएको हो ।

प्रतिबद्धता पत्रमा शिक्षा, स्वास्थ्य, यातायात, सञ्चार, विद्युत्, सिँचाइ तथा कृषि, तटबन्ध, युवा तथा रोजगार, पार्क उद्यान, सामाजिक सेवा तथा सुरक्षा समावेश रहेका छन् ।

त्यसैगरी सुकुम्बासी समस्या, दलित, जनजाति तथा आदिवासी, महिला, एकल महिला तथा बालबालिका, सहकारी, पर्यटन, संस्कृति, मठमन्दिर, तालतलैया, उद्योग व्यवसाय र पुलपुलेसा शीर्षकमा प्रतिबद्धता सार्वजनिक गरिएको छ ।

वनमन्त्री पाण्डेले आफू यसअघि निर्वाचन क्षेत्र नं र ५ बाट र क्षेत्र नं ४ बाट नेपाली कांग्रेसका तर्फबाट विजयी भएपछि रामकृष्ण घिमिरेले गरेका विकास निर्माणका विवरण समेत प्रतिबद्धता पत्रमा सार्वजनिक गरिएको छ ।

क्षेत्र नं ३ मा सार्वजनिक विश्वविद्यालय स्थापना गर्ने, रामपुरमा त्रिभुवन विश्वविद्यालयको इञ्जिनियरिङ कलेज स्थापना गर्ने प्रतिबद्धता पत्रमा जनाइएको छ । समग्र चितवनलाई ‘मेडिकल सिटी’को रुपमा स्थापना गर्ने, शिवनगरमा ५१ शैयाको अस्पताल, माडीको बघौडा अस्पताललाई सुविधा सम्पन्न अस्पताल बनाउने उल्लेख छ ।

नेपाल, भारत र चीन जोड्ने प्रस्तावित केरुङ–ठोरी मार्गलाई भरतपुरबाट कसरा पुल हुँदै लैजान पहल गरिने प्रतिबद्धतामा जनाइएको छ । नारायणी नदी र राप्ति किनारबाट तटबन्धनसंगै बाहिरी हरित चक्रपथ र भित्री चक्रपथको व्यवस्था गर्ने र माडीमा चक्रपथको निर्माण गर्ने प्रतिबद्धता पत्रमा उल्लेख छ ।

सम्पूर्ण प्रशासनिक काम विद्युतीय माध्यमबाट गर्ने, विद्युत् नपुगेका क्षेत्रमा एक वर्षभित्र विद्युत् पु¥याउने, सुख्खाग्रस्त क्षेत्रमा सिँचाइको व्यवस्था गर्ने, युवा पलायन हुनबाट रोक्न स्वदेशी उद्योगको प्रबर्द्धन गर्ने, एक घर एक रोजगारको व्यवस्था गर्ने प्रतिबद्धतामा उल्लेख छ ।

सामाजिक सेवा तथा सुरक्षा भत्ता दोब्बर गर्ने, सुकुम्बासीलाई उचित व्यवस्थापन गर्ने, बाँदरझुलाको बस्तीलाई उचित स्थानमा स्थानान्तरण गरी व्यवस्थापन गर्ने, महिलालाई सशक्तीकरण, बालबालिकालाई अनिवार्य शिक्षा र नेपालको पहिलो बखान सहकारीलाई राष्ट्रिय संग्रहालयको रुपमा विकास गर्ने लक्ष्य राखिएको छ ।

मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणको काम गर्ने, चितवनलाई पोल्ट्रि राजधानीको रुपमा विकास गर्ने, नारायणी नदीमा दुई स्थानमा पुल निर्माण गर्नेलगायतका प्रतिबद्धता लोकतान्त्रिक गठबन्धनले सार्वजनिक गरेको हो ।
रासस

प्रकाशित मिति : ८ मंसिर २०७४, शुक्रबार ००:००