१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाबुलाई जिताउन सिन्धुपाल्चोकमा दुई छोरीको कसरत



७ मंसिर, मेलम्ची ।
सिन्धुपाल्चोक जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा बाबुलाई जिताउन पशुपति शम्शेर राणाका दुई छोरी लागि परेका छन् ।

राप्रपा प्रजातान्त्रिक र नेपाली कांग्रेसका संयुक्त गठबन्धनलाई भोट माग्दै जिल्लाको हिमाली गाउँ पुगेका दुई छोरी उर्बसी र देवयानीले यो पटक लोकतान्त्रिक गठबन्धनलाई जिताएर सिन्धुपाल्चोकमा विकासको जग मजबुत बनाउन आग्रह गरेका हुन् ।

पैतिस वर्ष अघिदेखि सिन्धुपाल्चोकलाई कर्म थलो बनाएर चुनावमा भाग लिँदै आएका राप्रपा प्रजातान्त्रिकका अध्यक्ष ७६ वर्षीय राणा यस पटकको निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा छन् ।

ती दुई छोरीले यसअघि ०७० सालको संविधानसभा निर्वाचनमा पनि सिन्धुपाल्चोकका केही क्षेत्रमा पुगेर आफ्ना बाबुलाई भोट माग्न सघाएकामा यस पटक भने पूरा तयारीका साथ गाउँगाउँ पुगिरहेका छन् । उनीहरुले आफ्ना बाबुले ३५ वर्षदेखि गाउँ गाउँमा पु¥याएको योगदान र शिक्षा क्षेत्रमा गरेको विकासको कदर गर्दै यस पटक विजय गराउन अनुरोध गरेका हुन् ।

जिल्लाको विभिन्न भागमा भएको आमसभामा सहभागी भएकी छोरी देवयानीले २ नं निर्वाचन क्षेत्रको प्रदेशसभा क र ख मा नेपाली कांग्रेसबाट उम्मेदवार रहेका क्रमशः निमा लामा र विकास तामाङको साथले लोकतान्त्रिक गठबन्धनले चुनाव जित्नेमा विश्वस्त रहेको बताए ।

लामो समयदेखि सिन्धुपाल्चोकको विकासको लागि संघर्ष गर्दै आएका बाबुले भाषणभन्दा बढी काम गर्दै आएको र अबको दिनमा पनि जिल्लाको जनताको हकहित र विकासको लागि निःस्वार्थरुपमा लागि पर्नेमा कुनै दुविधा नलिन ठूली छोरी उर्बसीले आग्रह गरिन् ।

अहिले बाबुसँगै गठबन्धनबाट दुई दरिलो कांग्रेस नेताको साथ र सहयोगले चुनावी माहोल झनै तातेको बताउँदै छोरी देवयानीले कांग्रेसको प्रदेशसभाको चुनाव चिन्ह रुखमा र प्रतिनिधिसभाको लागि गोलाकारभित्रको हलोमा मतदान गर्न आग्रह गरेका हुन् ।

कांग्रेस र राप्रपा प्रजातान्त्रिकका साथीको सहयोग तथा दुई छोरीको मेहनतले पनि आफूले सजिलै चुनाव जित्नेमा आफू ढुक्क भएको राप्रपा प्रजातान्त्रिकका अध्यक्ष राणाले बताए ।
रासस

प्रकाशित मिति : ७ मंसिर २०७४, बिहिबार ००:००