९ बैशाख २०८१, आइतबार | Sun Apr 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निर्वाचन आचारसंहिता उल्लङ्घन बढ्दो



६ मंसिर, बैतडी ।
पहिलो चरणअन्तर्गत मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिएसंगै बैतडीमा निर्वाचन आचारसंहिता उल्लङ्घनका घटनामा वृद्घि हुन थालेका छन् ।

जिल्लाका राजनीतिक दलहरुले आचारसंहिता उल्लङ्घन नगर्ने प्रतिबद्घता जनाएको भए पनि उनीहरुले उल्लङ्घन गर्दै निर्वाचन प्रचारप्रसार गरिरहेका छन् । यहाँका राजनीतिक दलहरुले निर्वाचनको प्रचारप्रसार भड्किलो बनाउँदै गएका छन् ।

प्रचारप्रसारका सामग्री पर्चा, पोस्टर, झण्डा लगायत सामग्री प्रयोगमा आचारसंहिता उल्लङ्घन गरेको पाइएको छ । सदरमुकाम गोठलापानी बजार, शाहीलेक बजार दलहरुका झण्डा तथा पर्चा पम्पप्लेटले दुलही झैँ सिङ्गारिएका छन् ।

यस्तै पाटन बजार, सतबाझ, देहिमाडौँ, खोडपे बजार, खोचलेक बजार लगायतका क्षेत्रमा पनि झण्डाको माला नै बनाएर प्रचारप्रसार गरेको पाइएको छ । विद्यालयलाई शान्ति क्षेत्र घोषणा गरेको भए पनि केही दलले चुनावी सभा पनि विद्यालयमै गरेका छन् ।

निर्वाचनमा प्रचारप्रसार चर्को आवाज सहित गर्ने, नारा लगाउन बालबालिकाको प्रयोग गरेका पाइएको छ । कतिपय ठाउँमा सरकारी पदधारण गरेका व्यक्ति, शिक्षक, कर्मचारी, पत्रकार पनि चुनावी प्रचारप्रसार तथा चुनावी आमसभामा सहभागी भएका देखिन्छन् ।

निर्वाचनको आचारसंहिता उल्लङ्घनका घटना बढ्दै गएको भए पनि स्थानीय प्रशासन तथा निर्वाचन कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालय मौन जस्तै बनेको छ । सम्बन्धित निकाय मौन बस्दा निर्वाचन आचारसंहिताको घटनामा वृद्घि हुँदै गएको हो ।

निर्वाचन आचारसंहिता उल्लङ्घनबारे आफूले पनि सुनेको र कसैको उजुरी नआएकाले केही कार्वाही हुन नसकेको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले बताए । निर्वाचन आचारसहिंता अनुगमन समितिका संयोजकसमेत रहेका मुख्य निर्वाचन अधिकृत गौतमले भने, “विभिन्न ठाउँमा आचारसंहिता विपरीत काम भइरहेको छ ।”

“आचारसंहिता उल्लङ्घनबारे कसैको लिखित उजुरी आएको छैन्,” उनले भने, “लिखित उजुरी आएमा त्यसको अनुगमन गरी कार्वाही प्रक्रिया अगाडि बढाउँछौँ ।”

प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले निर्वाचन आचारसंहिता उल्लङ्घनका घटनालाई गम्भीरताका साथ लिइरहेको बताए । अहिले फाट्ट फुट्ट रुपमा मात्रै आचारसंहिता उल्लङ्घन गरिएको छ भन्ने सुनिएको छ । उनले भने, “निर्वाचनको अस्तित्व नै मेटिने गरी आचारसंहिता विपरित काम भएको पाइँदैन ।”

निर्वाचनलाई शान्त र भयरहित रुपमा सम्पन्न गर्न जिल्लामा उपलब्ध सुरक्षाकर्मी तथा बाहिरबाट पनि आवश्यक सुरक्षाकर्मीको प्रबन्ध मिलाइएकाले ढुक्कसँग निर्वाचनमा भाग लिन यहाँका नागरिकलाई स्थानीय प्रशासनले आग्रह गरेको छ ।

प्रतिनिधिसभाका लागि एक र प्रदेशसभाका लागि दुई निर्वाचन क्षेत्र रहेको बैतडीमा १२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् ।
रासस

प्रकाशित मिति : ६ मंसिर २०७४, बुधबार ००:००