२ बैशाख २०८१, आइतबार | Mon Apr 15 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रकाशको शोकमा चुनाव प्रचारप्रसारका सबै कार्यक्रम स्थगित



३ मंसिर, चितवन ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का पुत्र प्रकाश दाहालको निधनले चितवन क्षेत्र नं ३ स्तब्ध बनेको छ ।

अध्यक्ष दाहालको गृह जिल्ला र चुनावी क्षेत्र भएकाले प्रकाशको निधनसंगै यहाँका सर्वसाधारण दुखित भएका छन् । चुनावी प्रचार अभियान भइरहँदा प्रकाशको निधनसंगै वाम र लोकतान्त्रिक गठबन्धनले आज सबै चुनावी प्रचारका कार्यक्रम स्थगन गरेका छन् ।

प्रकाश २०३८ साल जेठ १८ गते चितवनको भरतपुर महानगरपालिका वडा नं १४ भीमसेननगरमा जन्मेका हुन् । उनको बाल्यकाल यहीँ बितेको थियो । उनी अध्यक्ष पुष्पकमलका स्वकीय सचिव एवं माओवादी केन्द्रका केन्द्रीय सदस्य थिए । द्वन्द्वकालमा भूमिगत रहेर बुवासंगै उनले राजनीति गरेका थिए ।

माओवादी केन्द्रका अध्यक्ष दाहालसंग चुनावी प्रतिस्पर्धामा रहेका लोकतान्त्रिक गठबन्धनका उम्मेदवार वन तथा भूसंरक्षणमन्त्री विक्रम पाण्डेले दाहाल परिवारमा परेको पीडाप्रति आफू मर्माहित भएको जनाउँदै आज घरदैलो र चुनावीसभाका सबै कार्यक्रम स्थगन गरिएको बताए । उनले भने, “एक होनाहार युवाको निधन भएको छ, म दुःखित छु । दाहाल परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछु ।”

पाण्डेको क्षेत्र नं ३ अन्तर्गत भरतपुर महानगरपालिका २१ को पार्वतीपुर र २६ को दिव्यनगरमा आज घरदैलो र चुनावीसभाका कार्यक्रम थिए । प्रकाशको निधनको खबर पाउनासाथ सबै कार्यक्रम स्थगन गरिएको उनले बताए ।

त्यस्तै वाम गठबन्धनले जिल्लाका तीन वटै क्षेत्रमा आटज गर्ने भनेको घरदैलो र चुनावीसभाका कार्यक्रम सबै स्थगन गरिएको माओवादी केन्द्र चितवनका इञ्चार्ज ईश्वरी भट्टराईले बताए ।

पार्टी अध्यक्षका पुत्र प्रकाशको निधनले सिंगो देश शोकमा रहेको भन्दै जिल्लाका सबै कार्यक्रम स्थगन गरिएको उनले बताए । वाम गठबन्धनले यही मङ्सिर ५ गते भरतपुरमा गर्ने भनिएको चुनावीसभा पनि हालका लागि स्थगन गरिएको छ । सो सभालाई माओवादी केन्द्रका अध्यक्ष दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम थियो ।

प्रकाशको निधनसंगै भरतपुरमा रहेकी प्रकाशकी दिदी भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालसहित जिल्लाका माओवादी नेता र शुभेच्छुक हेलिकप्टर र जहाजमार्फत काठमाडौँ गएका छन् । निर्वाचनमा बुबा पुष्पकमल चितवन क्षेत्र नं ३ बाट उम्मेदवार बनेपछि बुबासंगै धेरै समय यहीँ रहेकाले प्रकाश चितवनमा राम्ररी परिचित छन् ।
रासस

प्रकाशित मिति : ३ मंसिर २०७४, आइतबार ००:००