७ मंसिर २०८३, सोमबार | Mon Nov 23 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सडक सञ्चालनसँगै खोटाङका पुराना बस्ती तथा बजार विस्थापित

लेखक स्थानीय खबर २१ माघ २०७४, आइतबार २ मिनेट पढाइ

२१ माघ, खोटाङ ।
सडक सञ्चालन भएसँगै खोटाङका कतिपय पुराना बस्ती तथा ऐतिहासिक बजार विस्थापित हुँदै गएका छन् । पुराना बजारभन्दा फरक स्थानबाट सडक सञ्चालन भएपछि स्थानीयवासीले सडकतिरै सरेर व्यापार–व्यवसाय गर्न थालेपछि पुराना बजार तथा बस्ती रित्तो बन्दै गएका हुन् ।

कुनै समय अति नै चल्तीमा रहेको खोटाङ बतासेस्थित सुनकोशी किनारमै रहेको भण्डारेघाटमा स्थापित पुरानो बजार हाल उराठलाग्दो देखिन्छ । त्यो समयको झकिझकाउ लाग्ने बजारको पसलहरु राखिएको घरभित्र हाल गाईगोठ, बाख्रा खोर, कुखुरा खोर र कतै सुँगुर राखेको देखिन्छ ।

अन्तैबाट सडक सञ्जाल जोडिएपछि कतिपय घरहरु संरक्षण नहुँदा भत्किसकेका छन् । स्थानीयवासी राजेन्द्र राईका अनुसार नून–तेलको जोहो गर्ने जिल्लावासी होस् या साहुको भारी बोक्ने भरिया सबै बास बस्नका लागि तथा एक बिसाउनी बिसाउन मात्र भए पनि सोही स्थानलाई केन्द्र बनाउने गर्दथे ।

गाईघाट हुँदै काठमाडौँ लगायतका शहर आवतजावत गर्ने यात्रु पनि भण्डारेघाटमा बसेर थकाइ मार्थे, खाजा, नास्ता खान्थे उस्तै परे बासै बस्थे । ठूलै विपत्तिमा परेर बसाइँ सरेको जस्तो लाग्ने यस स्थानका घरपरिवार हाल सडक पछ्याउँदै अलिकति माथितिर पर्ने सडक किनारमा स्थापित भएका छन् ।

महुरे–फोक्सिङ्टार सडकखण्डमा पर्ने सो स्थानमा पसल तथा होटल व्यवसायलाई नै निरन्तरता दिइरहेको स्थानीयवासी बताउँछन् । नेपाल सरकार र स्विस सरकारको आर्थिक लगानीमा २०६७ सालदेखि निर्माण शुरु गरिएको सडक २०७० देखि नै आंशिक रुपमा सञ्चालनमा आएको थियो ।

हाल कालोपत्रको तीव्र काम भइरहेको सो सडक सञ्चालनमा आएसँगै विकासको रेखा कोरिएको छ । बतासेको भण्डारेघाट मात्र होइन जिल्लामा निर्मित सडकलगायत अन्य नयाँ संरचनाका कारण कतिपय बजार तथा बस्ती नयाँ स्थानमा सर्न थालेका छन् ।

परापूर्वकालदेखि व्यापार–व्यवसाय गर्दै आएका कतिपय परिवार अन्यत्रबाट सडक सञ्चालन भएपछि विस्थापित भएका छन् । जयरामघाट, फोक्सिङटार लगायतका कतिपय व्यवसायी अन्यत्र लगानी गर्ने क्षमता नभएका कारण अन्य पेशा अँगाल्न बाध्य भएका छन् ।
रासस

प्रकाशित मिति : २१ माघ २०७४, आइतबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।