१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ललितपुर ३ मा पानी, पर्यटन, रोजगारी र महिला स्वास्थ्यमा जोड



सञ्चिता घिमिरे
२९ कात्तिक, ललितपुर ।
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिएसंगै ललितपुरको क्षेत्र नं ३ मा चुनाबी चहल–पहल ह्वातै बढेको छ ।

प्रमुख राजनीतिक दलले घरदैलो कार्यक्रममार्फत मत माग्न आम मतदाताको घर–आँगनमा पुग्न थालेका छन् । वाम गठबन्धनले बिहीबारबाट र नेपाली कांग्रेसले कात्तिक २५ गतेबाट घरदैलो कार्यक्रम शुरु गरेको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य दुवैमा लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनका बीचमा मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । नेपाली कांग्रेसबाट जिल्ला सभापति मदनबहादुर अमात्य प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार छन् । उनी दोस्रो संविधानसभामा यस क्षेत्रबाट विजयी भएका थिए ।

वाम गठबन्धनबाट माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसाल उम्मेदवार छन् । उनी पहिलो संविधानसभामा यस क्षेत्रबाट विजयी भएकी थिइन् । दोस्रो संविधानसभामा आफू ठूलो मत अन्तरले विजयी भएको हुँदा आफ्नो जीत सुनिश्चित रहेको दावी अमात्यको छ । दोस्रो संविधानसभा निर्वाचनमा सहभागी भएकी भुसाल पहिलो संविधानसभामा पाएको जित फर्काउने दाउमा छन् ।

कांग्रेसबाट क्षेत्र नं ३ को प्रदेश क मा नवराज महत र ख मा शिवराम बानिया प्रदेशसभा सदस्यका उम्मेदवार छन् । वाम गठबन्धनबाट प्रदेश क मा एमालेका जीवन खड्का र ख मा माओवादी केन्द्रका राजकाजी महर्जन उम्मेदवार हुन् । यसअघिका निर्वाचनका आधारमा ललितपुर ३ मा कडा प्रतिस्पर्धा हुनसक्ने देखिएको स्थानीय मतदाता बताउँछन् ।

२०४८ सालको आमनिर्वाचन यता यस क्षेत्रमा सबै दलले जित हासिल गरिसकेका छन् । २०४८ र २०५६ सालको आमनिर्वाचनमा नेकपा एमाले विजयी भएको यो क्षेत्रमा २०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा नेकपा माओवादी ठूलो मतअन्तरले विजयी भयो भने दोश्रो संविधानसभामा नेपाली कांग्रेसले जित हासिल गरेको थियो ।

भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा गोदावरीको १२ र १४ गरी दुईवटा वडा र महानगरपालिकाको ६ वटा वडामा नेपाली कांग्रेसका वडाध्यक्ष विजयी भएका थिए । महानगरपालिकाका ११ वटा वडामा एमाले र चारवटा वडामा वडाध्यक्ष माओवादी केन्द्रका उम्मेदवार विजयी भएका थिए । आफू संविधानसभा २ मा जस्तै ठूलो अन्तरले विजयी हुने अमात्यले बताए । आफूले यस क्षेत्रको प्रतिनिधि भएर चार वर्षमा गरेका काम नै जित्ने आधार भएको उनको दाबी छ ।

उम्मेदवार अमात्यले भने, “संविधानसभामा यहाँका मतदाताले संविधान बनाउन आफूलाई पठाएकोमा त्यो काम पूरा भयो, अब विकासमा लाग्ने प्रतिबद्धता लिएर मतदातासम्म जाँदैछु ।” आफ्नो इमानदारिता, लगनशीलता र राष्ट्रवादले गर्दा जित्ने उनको दाबी छ ।

यस क्षेत्रका सबै तिरको साझा समस्या पानीको अभाव छ । धारा वितरण गर्न बाँकी रहेको र धारा भएका ठाउँमा समेत पानी नआउँदा स्थानीयवासी पानी अभाव भोग्न बाध्य छन्, उनी भन्छन्, “आगामी पाँच वर्षमा पानीको समस्या सधैँका लागि हल गर्ने मसँग योजना छ ।”

नगरको भित्री भागमा सम्पदाको संरक्षण, युवाका लागि रोजगारी, सामुदायिक र निजी शिक्षाको अन्तर लगायतका समस्या छन् । भूकम्पले क्षतिग्रस्त भएका निजी घर र सम्पदाको पुनः निर्माणका लागि लाग्ने प्रतिबद्धता अमात्यले व्यक्त गरे ।

प्रतिनिधिसभा सदस्यका अर्का उम्मेदवार भुसाल वाम गठबन्धन बलियो हुनु नै जितको प्रमुख आधार भएको बताउछिन् । दोस्रो संविधानसभामा माओवादी विभाजित थियो । अहिले माओवादी बलियो भएको र एमालेसंगको गठबन्धनका कारण जित्ने उनको दाबी छ । अहिलेसम्म राजनीतिक परिवर्तनका लागि लडेको र आगामी दिनमा आर्थिक समृद्धिका लागि लड्ने उनी बताउछिन् ।

यो क्षेत्र कला र सम्पदाले भरिपूर्ण भएकाले पर्यटनको विकास गरेर भौतिक पूर्वाधार, उद्योग, व्यवसाय, रोजगारी सिर्जना गरी आर्थिक समृद्धि ल्याउने भुसालको दाबी छ । यस क्षेत्रलाई संस्कृतिको राजधानी बनाउने आफ्नो योजना छ, उनी भन्छिन्, “हस्तकला, काष्ठकला, मूर्तिकलाको अझै विकास गरेर कला र संस्कृतिलाई विकासको आधार बनाउने योजना ल्याएको छु ।”

आफू ३८ वर्षदेखि ललितपुरमा बसेकाले यहाँको समस्या र सम्भावना दुवै देखेको बताउँदै उनले यस क्षेत्रमा रहेका नदीहरु ढलरहित गराउने र सडक कालोपत्र गराउने योजनामा आफू लाग्ने प्रतिवद्धता व्यक्त गरिन् ।

उम्मेदवार भूसालले सुनाकोठी र खोकनाको सिकाली चौरलगायतका स्थानमा पार्क बनाउँदा युवायुवतीदेखि ज्येष्ठ नागरिकलाई समय कटाउन सहज हुनेछ भन्दै महिलामा स्तन, पाठेघर लगायतका क्यान्सर बढी पाइएकाले यस सम्बन्धी उपचारको व्यवस्था पाटन अस्पताल गर्ने आफ्नो योजना रहेको उनले जानकारी गराइन् । क्षेत्र नं ३ मा महानगरपालिकाको २० वटा वडा र गोदावरी नगरपालिकाको दुईवटा वडा पर्दछ ।
रासस

प्रकाशित मिति : २९ कार्तिक २०७४, बुधबार ००:००