१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वाम गठबन्धनको चुनावी अभियानः धुवाँ धुलोमुक्त काठमाडौँको माग



रमेश लम्साल
२५ कात्तिक, काठमाडौँ ।
राजधानीलाई समुन्नत, सुन्दर र शान्त बनाउने लक्ष्यका साथ वाम गठबन्धनले शुक्रबार काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा चुनावी अभियान अगाडि बढाए ।

पार्टी एकताको लक्ष्यसहित चुनावी अभियानमा केन्द्रित भएका नेकपा एमाले र नेकपा माओवादी केन्द्रले काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा घरदैलो तथा आन्तरिक भेटघाटका काममा तीव्रता दिएका हुन् ।

‘कम्युनिष्टको नेतृत्वमा समृद्धि, कम्युनिष्टकै नेतृत्वमा प्रगति’ भन्ने नाराका साथ गठबन्धनले चुनावी अभियान तीव्र पारेको नेकपा एमालेका केन्द्रीय कार्यालय सचिव तथा काठमाडौँ क्षेत्र नं ९ का उम्मेदवार कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।

काठमाडौँ क्षेत्र नं ५ मा वाम गठबन्धनका साझा उम्मेदवार एवं एमालेका महासचिव ईश्वर पोखरेलले काठमाडौँ महानगरपालिका वडा नं २, ४ र ५ मा घरदैलो कार्यक्रम सञ्चालन गरे ।

काठमाडौँ क्षेत्र नं ५ प्रदेश क्षेत्र नं १ का उम्मेदवार नारायण सिलवालसंगै घरदैलोमा रहेका उनले स्थानीयसंग वाम गठन्धनलाई मत माग्दै अघिल्ला दुईवटा निर्वाचनमा जनताले आफूलाई सजाय दिएको र त्यो सजाय स्वयं जनताले पनि पाएको भन्दै यसपटक क्षेत्रको विकास र देशको निकासका लागि अनुरोध गरे ।

उनले आफू काठमाडौँ क्षेत्र नं ५ को विकासमा बढी केन्द्रित रहेको र यस क्षेत्रको सम्पूर्ण भूगोलबारे आफू परिचित रहेको भन्दै वाम गठबन्धनलाई विजयी गराएर स्थिर सरकार निर्माणमा लाग्नुपर्नेमा जोड दिए ।

यस्तैगरी, काठमाडौँ क्षेत्र नं ४ मा गठबन्धनका उम्मेदवार राजन भट्टराईले चुच्चेपाटी, गोपीकृष्ण हल लगायतका स्थानमा घरदैलो कार्यक्रम गरे । स्थानीयवासीले लामो समयदेखि मेलम्ची खानेपानी आयोजनाले सडक खनेर मर्मत नगर्दा आफूहरु समस्यामा परेको भन्दै तत्काल धुलो नियन्त्रण गर्न उम्मेदवार भट्टराईसंग माग गरेका थिए ।

यस्तै, काठमाडौँ क्षेत्र नं ६ मा गठबन्धनका उम्मेदवार झक्कु सुवेदीले गोँगबु र तारकेश्वर नगरपालिकाको वडा नं १, २ र ३ मा घरदैलो, जनभेटघाट कार्यक्रममा सहभागी भए । उनले प्रगति र समृद्धिका लागि वामपन्थी गठबन्धन बनेको भन्दै नेपाली कांग्रेसले अधिनायकवादको हौवा फिँजाएर आफ्नो कमजोरी छोप्ने प्रपञ्च गरेको बताए ।

काठमाडौँ क्षेत्र नं ७ का उम्मेदवार रामवीर मानन्धर, काठमाडौँ क्षेत्र नं ८ का उम्मेदवार जीवनराम श्रेष्ठ पनि एकीकृतरुपमा घरदैलो अभियानमा सहभागी भए । क्षेत्र नं ८ को डल्लुमा एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य सरिता महर्जनलगायतको उपस्थितिमा संयुक्त कार्यकर्ता भेलाको आयोजना गरियो ।

काठमाडौँ क्षेत्र नं १० का उम्मेदवार हितमान शाक्य कीर्तिपुरको पाँगामा आयोजित उम्मेदवार परिचय तथा प्रशिक्षण कार्यक्रममा सहभागी भए ।

कार्यक्रममा एमाले र माओवादी केन्द्रका नेताको सहभागिता रहेको थियो । उता काठमाडौँ क्षेत्र नं १ का उम्मेदवार अनिल शर्मा अनामनगर, बुद्धनगर लगायतका स्थानमा घरदैलो तथा भेटघाटमा सहभागी भए ।

यस्तै, काठमाडौँ क्षेत्र नं १ अन्तर्गत प्रदेश नं १ का उम्मेदवार विष्णुकुमारी भुसाल लगायतका नेता तथा कार्यकर्तासमेत घरदैलोमा सहभागी भए । उता काठमाडौँ क्षेत्र नं २ का उम्मेदवार माधवकुमार नेपाल आन्तरिक तयारीमा व्यस्त रहेका छन् ।

यसैबीच, ललितपुर क्षेत्र नं ३ मा पनि सो क्षेत्रका उम्मेदवार पम्फा भुसालले आफ्नो चुनावी अभियानलाई तीव्रता दिएकी छन् ।

वाम गठबन्धनकी साझा उम्मेदवार भुसाल आन्तरिक तयारीका साथै मंगलबजार क्षेत्रमा घरदैलो गरिन् । ललितपुरमा चुनाव प्रचारकै लागि एमाले, माओवादी केन्द्र र अन्य वाम शक्तिका बीचमा एक हजार १११ सदस्यीय क्षेत्रीय निर्वाचन प्रचारप्रसार समिति गठन भएको छ ।

संयुक्त निर्वाचन परिचालन समिति, ललितपुरले ललितपुर महानगरका विभिन्न क्षेत्रमा चुनावी अभियान सञ्चालन गरेको माओवादी केन्द्रका ललितपुर जिल्ला इन्चार्ज हरि दाहालले जानकारी दिए ।

ललितपुर क्षेत्र नं ३ मा ललितपुर महानगरको वडा नं १, २, ३, ४, १० १८, २०, २१ २२ र २५ गरी १० वटा वडा रहेका छन् । घरदैलोका क्रममा मतदाताले उम्मेदवारलाई स्थिर सरकारको निर्माण, शान्ति सुव्यवस्था, बेरोजगारी समस्याको अन्त्य, धुलो र धुवाँमुक्त शहरको माग गरेका थिए ।

यस्तै, मतदाताले विद्युत्भार कटौतीको अन्त्य गर्न सफल भएको भन्दै वाम गठबन्धनले जनताको दैनिक जीवनसंग जोडिएको विषयलाई प्राथमिकतामा राख्नसमेत ध्यानाकर्षण गराएका थिए ।

मेलम्ची खानेपानी आयोजनाले सडक खनेर अलपत्र पारेका कारण जनजीवन प्रभावित भएको, महँगी बढेकोजस्ता विषयमा समेत मतदाताले उम्मेदवारको ध्यानाकर्षण गराएको घरदैलोमा सहभागी नेता तथा कार्यकर्ताले जानकारी दिएका छन् ।
रासस

प्रकाशित मिति : २५ कार्तिक २०७४, शनिबार ००:००