५ पुस २०८२, शनिबार | Sat Dec 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खाद्य संस्थानकाे ब्यापारिक भवन निर्माणमा कामपाकाे अवराेध



 

शर्मिला पाठक
भदौ २६, काठमाडौं ।

रोक लगाइएको पाँच महिना बितिसक्दा समेत नक्शा पासका लागि प्रक्रियामा नआउँदा नेपाल खाद्य संस्थानको व्यापारिक भवन निर्माण अवरुद्ध भएको छ ।

संस्थानको भद्रकालीस्थित सात रोपनी जग्गामा व्यावसायिक भवन नक्शा पास नै नगरी नियम विपरीत निर्माण गरेको पाएपछि काठमाडौं महानगरपालिकाले गत वैशाखमा तत्काल निर्माण रोकी नक्शा पास गर्न भनेको थियो ।

कामपाले रोक लगाएको धेरै समय बितिसक्दा सम्म नक्शा बनाउने प्रक्रियामा समेत संस्थान नआएकाले निर्माणको काम हुन नसकेको कामपा वडा नम्बर ११ का वडाध्यक्ष हीरालाल तण्डुकारले जानकारी दिए ।

नक्शा मात्रै होइन संस्थानले कामपालाई पाँच वर्षदेखिको बक्यौतासमेत तिर्नुपर्ने बताइएको छ । संस्थानले कामपालाई सात करोड कर शीर्षकको बक्यौता रकम तिर्न र सम्बन्धित वडामा निर्माणका लागि नक्शा स्वीकृत गर्न कामपाले संस्थानलाई आग्रह गरिसकेको छ । संस्थानले भने आफूहरु नक्शा पासका लागि आउने जनाउँदै बक्यौता तिर्नका लागि भने आफूसँग रकम नभएको बताउँदै आएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा २७ मा सरकारी वा निजी कार्यालयले भवन निर्माण गर्दा सम्बन्धित स्थानीय तहबाट अनिवार्य रुपमा नक्शा स्वीकृत गर्नुपर्ने व्यवस्था छ । नियम विपरीत निर्माण गरेकाले कामपाले निर्माणमा रोक लगाएको तण्डुकारले बताए । अहिले निर्माणमा रोक लगाइएको भवन संस्थान आफ्नै नभई व्यापारिक प्रयोजनका लागि अरूले नै निर्माण गरिरहेको भवन भएको बताइएको छ ।

वडाका सार्वजनिक जग्गा पहिचान

पछिल्लो समय कामपाले ३२ वटै वडामा रहेका सार्वजनिक जग्गाको पहिचान गर्न अग्रसरता देखाएको छ । खुला सार्वजनिक स्थानको पहिचान र संरक्षणको काम अघि बढाउन केही महिनाअघि कामपा प्रमुख विद्यासुन्दर शाक्यले सबै वडाध्यक्षलाई निर्देशन दिइसकेका थिए ।

प्रमुखको निर्देशनानुसार हालसम्ममा कामपा वडा नम्बर ११ मा आठ रोपनी जग्गा र अन्य तीन वडामा केही जग्गा पत्ता लगाइएको छ । यसअघि व्यक्तिगत रुपमा प्रयोग भइरहेका ती जग्गामध्ये केहीमा ज्येष्ठ नागरिक मनोरञ्जन केन्द्रसहित सबैका लागि प्रयोगमा ल्याउने कामपाको योजना छ ।

कामपामा हालसम्म वडा नं ३, ६ र २९ मा रहेको सार्वजनिक जग्गाको पहिचान भइसकेको छ । वडा नं ३ मा १५ रोपनी, ६ मा १० रोपनी र २९ मा नौ रोपनी सार्वजनिक जग्गाको पहिचान भएको कामपा, भौतिक पूर्वाधार महाशाखाका प्रमुख इञ्जिनीयर रामबहादुर थापाले जानकारी दिए ।

थापाका अनुसार तीन वडाका जग्गालाई संरक्षण र सबैको पहुँचमा ल्याउन बगैँचा निर्माणका लागि डिजाइनको काम भइसकेको छ । कामपाले चालु आर्थिक वर्षमा सार्वजनिक जग्गा पहिचान र संरक्षण गर्न तीन करोड विनियोजन गरेको छ । थापाका अनुसार कामपाका सबै वडामा धेरै थोरै खुला सार्वजनिक जग्गा छ । ती सबै जग्गाको पहिचान गरी प्रयोगमा ल्याइने कामपाको योजना छ ।

यसअघि केही सार्वजनिक जग्गामा व्यक्तिगत व्यवसाय सञ्चालन हुँदै आएको थियो । कतै टहरा बनाएर नागरिकले जीवन गुजारिरहेका थिए । अब ती सबै सञ्चालन भइरहेका व्यवसाय र टहरा हटाई सामूहिक प्रयोगमा ल्याइने कामपाको भनाइ छ ।
रासस

प्रकाशित मिति : २६ भाद्र २०७५, मंगलबार ००:००