२६ बैशाख २०८१, बुधबार | Wed May 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

झापा क्षेत्र नं ३ मा वाम गठबन्धनको प्रचार शुरु



 

२१ कात्तिक, भद्रपुर । आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा होमिएका वाम गठबन्धनका उम्मेदवारले झापा निर्वाचन क्षेत्र नं ३ मा प्रचारप्रसारलाई आजदेखि तीव्र पारेका छन् ।

वाम गठबन्धनबाट प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री राजेन्द्र लिङ्देन र प्रदेश सभामा ‘क’ मा नेकपा एमालेका वसन्त बानियाँ र ‘ख’ मा नेकपा माओवादी केन्द्रका पूर्णसिंह राजवंशी उम्मेदवार बनेका छन् ।

प्रतिनिधि सभा सदस्यमा सातजना र प्रदेश सभा ‘क’ र ‘ख’ मा सात सातजनाको उम्मेदवारी परेको यस क्षेत्रमा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार बनेका प्रभावशाली उम्मेदवार कृष्णप्रसाद सिटौला र राप्रपाका लिङ्देनबीच कडा प्रतिष्पर्धा हुने देखिएको छ । प्रदेश सभा ‘क’ मा कांग्रेस उम्मेदवार भूमिप्रसाद राजवंशी र ‘ख’ का उम्मेदवार भगिरथ पोदारसंग एमालेका बानियाँ र माओवादीका राजवंशीको प्रतिष्पर्धा हुने अनुमान गर्न सकिन्छ ।

यस क्षेत्रमा ५७ हजार ५७० महिलासहित एक लाख १४ हजार मतदाताले मतदान गर्नेछन् । प्रेस चौतारी नेपाल, मिडिया नेपाल र प्रेस सेन्टर नेपालको संयुक्त प्रचारप्रसार चुनाव परिचालन समितिद्वारा भद्रपुरको रिवाज होटेलमा आयोजित पत्रकार सम्मेलनमा वाम गठबन्धनका तर्फबाट निर्वाचन क्षेत्र नं ३ का उम्मेदवारले सामूहिक प्रतिबद्धता जाहेर गर्दै गठबन्धनका उम्मेदवारलाई जिताउन स्थानीय मतदातासंग आग्रह गरेका छन् ।

राप्रपा उम्मेदवार लिङ्देनले प्रतिनिधि सभाका एक सिटका लागि राप्रपाले मेची अञ्चलभर कुनै पनि उम्मेदवार नदिएको जानकारी दिँदै जनताको पीर मर्कामा सधैँ साथ र सहयोग गर्ने उम्मेदवारलाई जिताउन आम मतदातासंग आग्रह गरे ।

सही प्रतिनिधिको अभावमा विकासपछि परेको यो क्षेत्रको समग्र विकास गर्न, बेरोजगारी समस्या समाधान गर्न, नदीबाट हुने डुबान र कटानलाई नियन्त्रण गर्न, जंगली हात्तीबाट हुने जनधनको क्षतिलाई रोक्न, स्वच्छ, भ्रष्टाचारमुक्त समाज निर्माण गर्न र आम जनतालाई परिवर्तनको अनुभूति दिलाउन पनि वाम गठबन्धनको उम्मेदवारलाई जिताउन आवश्यक रहेको उनको भनाइ थियो ।

सोही अवसरमा वाम गठबन्धनका प्रदेश सभाका उम्मेदवार वसन्त बानियाँ र पूर्णसिंह राजवंशीले शिक्षा, स्वास्थ्य, विकासका कारण पछिपरेको यो क्षेत्रमा परिवर्तन ल्याउन र जनताका सबै किसिमको समस्या समाधान गर्न वाम गठबन्धनका उम्मेदवारलाई जनताले यस पटक अवसर दिनुपर्ने बताए ।
रासस

प्रकाशित मिति : २१ कार्तिक २०७४, मंगलबार ००:००