८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काभ्रेका ग्रामीण क्षेत्रमा बढ्दो चुनावी चहलपहल




युवराज पाण्डे

२० कात्तिक, बनेपा ।
शहरमा भन्दा काभ्रेपलाञ्चोकको दुर्गम ग्रामीण क्षेत्रलाई प्राथमिकतामा राखेर उम्मेदवारले भोट माग्न थालेका छन् । सुनसान जस्तै बनेका जिल्लाका दुर्गम ग्रामीण भेग अहिले वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनका झण्डा र चुनावी चहलपहलले झकिझकाउ भएको छ ।

जिल्लाका दुर्गम क्षेत्र मानिने कोशिपारीका गाउँपालिका र महाभारत शृंखला डाँडापारीका जिल्लामा भिन्दाभिन्दै कार्यक्रम मार्फत उम्मेदवारका लागि भोट माग्ने कार्यक्रम भइरहेको वाम गठबन्धन निर्वाचन परिचालन कमिटीले जनाएको छ ।

कोशिपारी क्षेत्रका केही भू–भाग काभ्रेपलाञ्चोकको निर्वाचन क्षेत्र नं २ अन्तर्गतपर्छ भने डाँडापारी क्षेत्रका केही भू–भाग निर्वाचन क्षेत्र नं १ अन्तर्गत पर्छ । तर अधिकांश ग्रामीण क्षेत्र दुर्गमको रुपमा लिइन्छ ।

महाभारत शृखलाको डाँडापारीका केही भू–भागमा यातायातको कुनै पनि सञ्जाल छैन भने कोशिपारीका कतिपय क्षेत्रमा खानेपानीको चरम समस्याले गुज्रेको अवस्था छ । अहिले वर्षौदेखि रहेको विभिन्न समस्यालाई प्राथमिकतामा राखेर वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनले दुर्गम ग्रामीण क्षेत्रमा संयुक्तरुपमा भोट मागिरहेका छन् ।

प्रतिनिधि सभा क्षेत्र नं २ को २ का प्रदेश सभाका उम्मेदवार वसुन्धरा हुमागार्इंले गाउँगाउँमा संयुक्तरुपमा वाम गठबन्धनका लागि नै भोट मागिएको जानकारी दिँदै वामपन्थीको स्थायी सरकार भए त्यसले आमूल परिवर्तन ल्याउने बताइन् ।

उनले बनेपाको फोहोर व्यवस्थापनको चुनौती रहेको उल्लेख गर्दै पर्यटन प्रर्द्धन, कृषिको आधुनिकीकरण, बाटोघाटोको समस्या, स्वास्थ्य क्षेत्रमा देखिएको समस्या समाधान लगायतका काम निर्वाचित भएपछि प्रभावकारी ढंगले गर्ने बताइन् ।

प्रदेश सभाका उम्मेदवार हुमागाईंले भनिन्– “औद्योगिक करिडोर र कलकारखाना, उद्योगको समेत सम्भाव्यता अध्ययन गरेर पूर्वाधार विकासलाई तीव्र बनाइने छ ।”

प्रतिनिधि सभा क्षेत्र नं १ का उम्मेदवार गंगाबहादुर दोङले संविधान कार्यान्वयन, समानुपातिक तथा समावेशी राजनीतिक प्रणाली र समाजवाद उन्मुख संविधानलाई राजनीतिक रुपमा स्थापित गराउन आवश्यक रहेको उल्लेख गर्दै ग्रामीण दुर्गम क्षेत्रमा देखिएको बाटोघाटो र पुल–पुलेसाको समस्या समाधानका लागि आफ्नो उम्मेदवारी परेको बताए ।

उनले तेमाल क्षेत्रमा अहिले पनि खानेपानीको चरम अभाव झेल्नुपरेको जानकारी दिँदै खानेपानीको समस्या समाधान, कृषि र पशुपालनको आधुनिकीकरण, जडीबुटीको अधानिकीकरण, प्रचुर पर्यटनको सम्भावना, शिक्षा र स्वास्थ्यमा परिवर्तन आवश्यक भएकोमा जोड दिए ।

प्रतिनिधि सभा क्षेत्र नं १ का उम्मेदवार दोङले भने– “हाम्रो निर्वाचन क्षेत्रमा १७ हजार फरक मत भएकाले पनि हाम्रो विजय सुनिश्चित रहेको छ ।” प्रतिनिधि सभा क्षेत्र नं २ का उम्मेदवार तथा नेपाली कांग्रेसका जिल्ला सभापति मधुप्रसाद आर्चायले प्राकृतिक रुपमा पर्यटकीय सम्भावना रहेको काभ्रेपलाञ्चोकमा कृषिको आधुनिकिकरण र जलस्रोतको पनि उत्तिकै सम्भावना रहेकाले त्यसको विकास कांग्रेसको नेतृत्वमा मात्रै हुने दाबी गरे ।

उनले जिल्लामा विगतका निर्वाचनमा पूर्वाधार विकास वा शिक्षा र स्वास्थ्यका क्षेत्रमा कांग्रेसले प्रभावकारी काम गरेको जिकिर गर्दै जिल्लाको समग्र र सन्तुलित विकास आवश्यक भएको बताए ।

उनले भने– “दुर्गम डाँडापारीका कतिपय जिल्लामा मोटरको सञ्जाल नभएकाले त्यसलाई हामीले उच्च प्राथमिकता दिएका छौ ।” प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन आगामी मंसिर १० गते पहिलो चरणमा र दोस्रो चरण मंसिर २१ गते हुदैछ ।

कूल ४१ हजार ४४२ नयाँ मतदाता थपिएको काभ्रेपलाञ्चोकमा कुल मतदाता दुई लाख ७२ हजार २९२ पुगेका छन् । जहाँबाट दुईजना प्रतिनिधि सभा सदस्य र चारजना प्रदेश सभाका लागि निर्वाचित हुनेछन् । ३५० मतदान केन्द्र रहेको जिल्लामा मतदानस्थल १८९ कायम भएको छ ।
रासस

प्रकाशित मिति : २० कार्तिक २०७४, सोमबार ००:००