१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मनोनयन दर्तासंगै ललितपुरमा चुनावी चहलपहल तीव्र




साहिला तामाङ

ललितपुर, १९ कात्तिक ।
आगामी मंसिर २१ गते हुन लागेको दोस्रो चरणको प्रतिनिधि सभा र प्रादेशिक सभाको निर्वाचनका लागि उम्मेदवारी दर्तासंगै गाउँ गाउँमा चुनावी चहलपहल ह्वातै बढेको छ ।

दैनिकी दिनचर्याबाहेक अन्य गतिविधि शून्य हुने गाउँघरमा चुनावी माहोलको सरगमी बढ्दै गएको छ । निर्वाचनको परिणाम आफ्नै पोल्टामा पार्न पार्टीका नेता अहिले घर घरमा भोट माग्न पुगिरहेको सजिलै देख्न पाइन्छ ।

विसं २०७० मा सम्पन्न संविधानसभाको निर्वाचनपछि हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा भाग लिन जनता जति आतुर देखिन्छन् त्यति नै नेता आफ्नो बहसमा मत पार्न कसरत गरिरहेका छन् । नयाँ संरचनाअनुसार हुन लागेको निर्वाचनले पनि जनतामा उत्साह छाएको छ ।

नेपाली कांग्रेसका जिल्ला सभापति एवं निवर्तमान सांसद मदनबहादुर अमात्य मत माग्न व्यस्त भएका छन् । दोस्रो सविधानसभाको निर्वाचनमा क्षेत्र नम्बर ३ बाट अमात्य भारी मतका साथ विजयी भएका थिए ।

जसरी २०७० सालको निर्वाचनमा ललितपुर कांग्रेसको किल्ला भयो त्यसरी नै मंसिरमा हुने निर्वाचनले उक्त किल्ला कायम रहने सभापति अमात्यको भनाइ थियो ।

मंसिरमा हुने दोस्रोचरणको निर्वाचनमा सो क्षेत्रबाट प्रतिनिधिसभाको उम्मेदवार समेत रहेका अमात्यले जनताको विश्वास अझै कांग्रेसमाथि रहेको बताए । लोकतन्त्रको स्थायित्वका लागि कांग्रेसको विजय आवश्यक रहेको उनको धारणा थियो ।

जनतालाई आफ्ना आवाज अभिव्यक्त गर्न र हक अधिकारलाई सुनिश्चित पार्न लोकतन्त्रमा मात्र सम्भव हुने उनको तर्क थियो । विसं २०७० मा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनमा उनले २३ हजार ५६१ मत प्राप्त गरेका थिए ।

यही मतलाई कायम राख्न सके मात्र कांग्रेसको विजय सुनिश्चित हुने वामगठबन्धनले कुनै असर पार्न नसक्ने उम्मेदवार अमात्यको दाबी थियो । ललितपुरमा रहेको तीनवटै क्षेत्र र छ वटा प्रदेशमा कांग्रेसको विजय सुनिश्चित पार्न पार्टी कटिबद्ध रहेको सभापति अमात्यले बताए ।

क्षेत्र नं २ का प्रतिनिधिसभा उम्मेदवार रहेका कांग्रेसका चन्द्र महर्जनले जनता मत खसाल्न आतुर रहेकाले आफू पनि मतमाग्न गाउँघर पुगिसकेको बताए । यस क्षेत्रबाट दोस्रो संविधानसभाको निर्वाचनमा विजयी महर्जनले यस पटक पनि सजिलै चुनाव जित्नसक्नेमा ढुक्क रहेको बताउछन् ।

वामगठबन्धन र लोकतान्त्रिक गठबन्धमध्ये जनताले लोकतान्त्रिक गठबन्धनलाई विजयी गराउनेमा आफू विश्वस्त रहेको उनको भनाइ छ । यस क्षेत्रबाट कांग्रेसले २०७० सालको निर्वाचनमा २३ हजार ५३० मत प्राप्त गरेको थियो ।

राणाशासन र राजालाई फ्याकेर देशमा प्रजातन्त्र स्थापना गर्न कांग्रेसले नेतृत्व गरेको अवस्थामा आज पनि लोकतन्त्र स्थापनाका लागि लोकतान्त्रिक गठबन्धनको विजय आवश्यक रहेको नेता महर्जनले दाबी गरे ।

अर्थराज्यमन्त्री एवं निवर्तमान सांसद समेत रहेका उदयशम्शेर राणाले देशको हरेक अप्ठ्यारो परिस्थिति कांग्रेसकै पहलमा समाधान भइरहेको उल्लेख गर्दै नयाँ संरचनाअनुसार हुनलागेको निर्वाचनले देशलाई समृद्ध बनाउने बताउछन् ।

आर्थिक क्रान्ति र देशको विकासका लागि आगामी मंसिरमा हुनलागेको केन्द्र र प्रदेशको चुनावमा कांग्रेसको पक्षमा जनलहर आउनुको विकल्प नभएको उनले उल्लेख गरे । ‘‘संविधान निर्माण कांग्रेसकै नेतृत्वमा भएको हो, अव त्यसको कार्यान्वयनका लागि मंसिरमा हुने चुनावले साकार पार्नेछ’’ उनले भने ।

दोस्रो संविधानसभाको निर्वाचनमा कांग्रेसबाट उम्मेदवारी भएर निर्वाचित भएका राणा यस पटक पनि सो क्षेत्रबाट प्रतिनिधिसभाको उम्मेदवार भएका छन् । आफ्नो कार्यकालमा काठमाडौँबाट हेटौडासम्म जोड्ने कान्तिलोकपथ सडकको निर्माणले तीव्रता पाएको र विकासको आधारमा जनताले आफूलाई चुनेर पठाउनेमा ढुक्क रहेको राणाको भनाइ छ ।
रासस

प्रकाशित मिति : १९ कार्तिक २०७४, आइतबार ००:००