Logo

रसुवाका उम्मेदवारको साझा नाराः गाउँगाउँमा मोटर बाटोदेखि रोजगारीसम्म




अच्युत रेग्मी

रसुवा, १९ कात्तिक
नेपालको उत्तरी हिमाली जिल्ला रसुवामा चुनावी सरगर्मी बढेको छ । मंसिर १० गते हुने प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा आफ्नो पक्षमा भोट माग्न लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनका उम्मेदवार घरघरमा पुगेर भोट माग्न थालेका छन् ।

जिल्लाका सबै भागमा अहिलेसम्म पनि सडक सञ्जाल नपुगेकाले उम्मेदवार पैदलै हिँडेर भोट माग्न बाध्य भएका हुन् । पछिल्लो समय फेसबुक, ट्वीटर, अनलाइन लगायतका सामाजिक सञ्जालबाट पनि मत माग्ने प्रचलन बढेर गएको छ तर जिल्लाका अधिकांश बासिन्दामा सामाजिक सञ्जालको पहुँच नभएका कारण घरमै पुगेर मत माग्नुपर्ने अवस्था आएको भोट माग्न घर–घर पुगेका स्थानीय नेता राजेन्द्र आचार्यले बताए ।

जनतासंग भोट माग्न रसुवाका उम्मेदवारले पोष्टर, पम्प्लेट, माइक, पार्टीको झण्डा र चुनाव चिन्ह प्रयोग गर्दै आएका छन् ।

नेपाली कांग्रेस र नयाँ शक्ति नेपालबीचको लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका नेता इञ्जनियर मोहन आचार्य, प्रदेश क मा नेपाली कांग्रेसकै प्रभात तामाङ र प्रदेश ख मा नयाँ शक्ति नेपालका प्रेम तामाङ चुनावी मैदानमा छन् ।

यस्तै नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीचको वाम गठबन्धनबाट प्रतिनिधिसभामा नेकपा एमालेका जनार्दन ढकाल, प्रदेश क मा नेकपा एमालेका कर्न्याल लामा तथा प्रदेश ख मा नेकपा माओवादी केन्द्र का इन्द्रप्रसाद गोतामे चुनावी मैदानमा छन् । यसैगरी केही व्यक्तिले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

रसुवामा उत्तरगया, कालिका, गोसाइकुण्ड, नौकुण्ड र पार्वतीकुण्ड गरी पाँच गाउँपालिका छन् । यही वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले दुई, नेकपा एमालेले दुई र नयाँ शक्ति नेपालले एक गाउँपालिकामा विजय हाँसिल गरेको थियो ।

शनिबार लोकतान्त्रिक गठबन्धनले नौकुण्ड गाउँपालिकाको सर्सिऊँमा आमसभा गरेर आफ्नो पक्षमा भोट मागिरेहको थियो भने वाम गठबन्धनले गोसाइँकुण्ड गाउँपालिकाको धुञ्चेमा आमसभा गरेर मत मागिरहेको थियो । मत माग्ने क्रममा दुवै पक्षका उम्मेदवारले आफ्नो जित सुनिश्चित हुने दाबीसमेत गरेका थिए ।

वाम गठबन्धनका उम्मेदवार ढकाल नेकपा एमाले रसुवाबाट विसं २०७० को संविधानसभाको निर्वाचनमा निर्वाचित सांसदसमेत हुन् । “विसं २०७० को निर्वाचनमा संविधान निर्माणका लागि भोट मागेका थियौँ, अहिलेको निर्वाचनमा समग्र जिल्लाको विकासका लागि भोट मागेको छु” उनले भने ।

लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका इञ्जिनियर आचार्य कांग्रेसका युवा नेता हुन् । उनी जिल्लामा भएका स्रोतसाधनको प्रयोग गरी जिल्लालाई नमूना बनाउने उद्देश्यका साथ उम्मेदवार बनेको बताउछन् । “म इञ्जिनियर हुँ, रसुवा जिल्लाको विकास कसरी गर्ने भन्ने कुरा मलाई राम्रोसंग थाहा छ” उनले भने ।

यसैगरी दुवै उम्मेदवारले सडक सञ्जालले विदेश छोएको अन्तर्राष्ट्रिय नाका केरुङलाई व्यवस्थित बनाउने, सबै गाउँमा मोटरबाटो पु¥याउने, रसुवावासीलाई रोजगारी दिने, जलविद्युत् उत्पादन गरेर रसुवाली जनतालाई शेयर दिलाउने लगायतका नारा मतदातासमक्ष दिएका छन् । रसुवाका २७ वडामा ३२ हजार ३२३ मतदाता छन् ।
रासस

प्रतिक्रिया दिनुहोस्