१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सप्तरीमा राजपा–फोरम गठबन्धन र वाम गठबन्धन बिरूद्ध वागी उम्मेदवार प्रतिस्पर्धामा




राजविराज
, १९ कात्तिक । अगामी मंसिर २१ गते दोस्रो चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सप्तरीमा राजपा–फोरम गठबन्धन र नेकपा एमाले र नेकपा माओवादी केन्द्रको वाम गठबन्धनमा वागी उम्मेदवार प्रतिस्पर्धामा उत्रेका छन् ।

मुख्य निर्वाचन कार्यालयका अनुसार सप्तरी क्षेत्र नं २ बाट प्रतिनिधिसभा निर्वाचनका लागि संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले उम्मेदवारी दिएपछि उनीविरुद्ध राजपाका सहमहामन्त्री जयप्रकाश ठाकुरले उम्मेदवारी दिएका छन् ।

वाम गठबन्धनका तर्फबाट सोही क्षेत्रमा पूर्वमन्त्री उमेश यादवले उम्मेदवारी दिएकामा उनीविरुद्ध मोओवादीकै मजदुर नेता केदार देव प्रतिस्पर्धामा उत्रिभएका छन् ।

यस्तै एमालेले वाम गठबन्धनबाट स्थायी कमिटी सदस्य एवं २ नं प्रदेश इन्चार्ज सत्यनारायण मण्डललाई क्षेत्र नं १ को क बाट प्रदेशसभाको उम्मेदवार बनाए पनि उनीविरुद्ध एमालेकै जिल्ला कमिटी सदस्य प्रकाश खतिवडाले वागी उम्मेदवारी दिएका हुन् । खतिवडा नेपाल पत्रकार महासंघ जिल्ला शाखाका निर्वतमान अध्यक्षसमेत हुन् ।

त्यस्तै राजपाबाट माओवादीमा प्रवेश गरेका शशि यादवलाई क्षेत्र नं ४ को ख बाट प्रदेशसभाका लागि उम्मेदवार बनाउने निर्णय गरेपछि माओवादीका क्षेत्रीय सचिव बालेश्वर यादवले वागी उम्मेदवारी दिएका हुन् ।

राजपाका महासचिव मनिष सुमन पनि आफ्नो गृहजिल्ला सप्तरी २ नं क्षेत्रको प्रदेशसभा ख बाट उम्मेदवार बनेपछि उनीविरुद्ध उनकै पार्टीका क्षेत्रीय अध्यक्ष लक्ष्मण यादव वागी उम्मेदवार बनेका छन् । सुमनविरुद्ध संघीय समाजवादी फोरम नेपालका नेता भीमराज यादवले पनि उम्मेदवारी दिएका छन् । यादव यसअघि असोज २ गते सम्पन्न तेस्रो चरणको स्थानीय तह निर्वाचनमा राजविराज नगरपालिकाको प्रमुख पदमा राजपाका शम्भु यादवसंग पराजित भएका थिए ।

त्यसैगरी राजपा र फोरम गठबन्धनबाट उम्मेदवार बनेका राजपाका केन्द्रीय उपाध्यक्ष नवकिशोर साहविरुद्ध पनि वागी उम्मेदवारी परेको छ । क्षेत्र नं १ को प्रदेशसभा ख बाट उम्मेदवारी दिएका राजपाका केन्द्रीय उपाध्यक्ष साहविरुद्ध संघीय समाजवादी फोरम नेपालका प्रदेश सचिव शम्भु झा उम्मेदबार बनेको उक्त कार्यालयले जनाएको छ ।

यस्तै मधेशी दलको गठबन्धनबाटै क्षेत्र नं ४ मा प्रतिनिधिसभाका लागि उम्मेदवार बनेका राजपाका नेता मृगेन्द्रसिंह यादवविरुद्ध उनकै आफ्नै भाइ फोरमका सप्तरी इन्चार्ज अनिरुद्ध सिंह यादवले उम्मेदवारी दर्ता गराएका छन् ।

राजपा फोरम गठबन्धनबाट क्षेत्र नं ३ को ख बाट उम्मेदवारी दिएका विन्देश्वर यादवविरुद्ध फोरम नेपालले वागी उम्मेदवार उभ्याएको छ । यादवविरुद्ध फोरम नेपालले जिल्ला सचिव उपेन्द्र यादवलाई वागी उम्मेदवार बनाएको हो ।

अगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि सप्तरीको चार वटा प्रतिनिधिसभा क्षेत्रबाट ५९ जना र आठ वटा प्रदेशसभा क्षेत्रबाट १०९ जनाले उम्मेदवारी दिएका छन् ।
रासस

प्रकाशित मिति : १९ कार्तिक २०७४, आइतबार ००:००