२३ कार्तिक २०८३, सोमबार | Mon Nov 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रामपुरमा खरका छाना विस्थापन गर्न लगत संकलन शुरु

लेखक स्थानीय खबर १७ कार्तिक २०७४, शुक्रबार २ मिनेट पढाइ


पाल्पा
, १७ कात्तिक । रामपुर नगरपालिकाले खरका छाना भएका घरलाई विस्थापन गर्ने लक्ष्यका साथ लागत संकलन गर्न थालेको छ । नगरपालिकाले कात्तिक ८ गतेदेखि त्यस्ता घर हुनेहरुलाई अनुदान दिनका लागि तथ्याङ्क संकलनमा जुटेको हो ।

वर्षातको समय पानी चुहिने र वर्षेनी छाना छाउनुपर्ने कारण खर्चिलो रहेकाले नगरपालिकाले यस वर्ष खरका छाना हटाउन प्रोत्साहनस्वरुप अनुदान दिन थालेको हो । एक हप्ताको अवधिमा २१५ घर खरका छाना विस्थापनका लागि अनुदान माग गर्न निवेदन परेको छ । नगरभित्रका वडामा अझै पनि खरका छानाका घरहरु प्रशस्तै रहेका छन् ।

नगर प्रमुख रमणबहादुर थापाले निर्वाचनको अवधिमा खरका छाना भएका घर विस्थापित गर्ने लक्ष्यका साथ चुनावमा होमिएका थिए । सोही अनुसार खरको छानोरहित बनाउने कार्यक्रम अन्तर्गत रामपुर नगरपालिकाले यस वर्ष ५० लाख विनियोजन गरेको छ ।

नगरभित्रका खरका छानोका कारण यहाँका बासिन्दा दयनीय जीवन जिउन बाध्य रहेका छन् । गरिब विपन्न समुदायका मानिसलाई प्रत्येक वर्ष छानो हाल्न आर्थिक समस्या हुनेलाई यो कार्यक्रमले राहत हुने उनले बताए ।

“अहिले तथ्याङ्क संकलन भइरहेको छ,” थापाले भने, “निवेदन माग गरेको छोटो समयमा नै धमाधम निवेदन परेको छ ।” नगरपालिकाले कात्तिक मसान्तसम्म निवेदन माग गरेको छ ।

२०६८ सालको जनगणनाअनुसार रामपुर नगरपालिकाभित्र झण्डै एक हजार ५०० घरधुरी खरको छानोका घर छन् । निवेदनका आधारमा प्राविधिकको सल्लाहअनुसार कर्कटपाताले छाउने बनाएपछि अनुदानको कर्कट वितरण हुने रामपुर नगर कार्यपालिका सचिवालय प्रमुख कपिल बहादुर खाँणले बताए । खाँणका अनुसार यस कार्यक्रमका लागि घरको मूल छानो नै खरको हुनुपर्नेछ ।

नगरपालिका ६ का अध्यक्ष तथा प्रवक्ता हुमनाथ न्यौपानेले वडा र नगरपालिकाको कार्यालयमा अनुदानका लागि निवेदन दिने व्यवस्था मिलाएको बताए ।

स्थानीयवासीले निवेदन र नागरिकताको प्रतिलिपि र घरको जग्गाको लालपुर्जाको प्रतिलिपि संकलन गरिरहेको उनले बताए । खरका छाना विस्थापन गर्ने कार्यक्रम आगामी वर्ष पनि निरन्तर रहने न्यौपानेले बताए ।

पछिल्ला वर्ष ग्रामीण क्षेत्रका मानिसले समेत पक्की घर निर्माण गर्न थाले पनि गरिब समुदायका मानिस अझैपनि खरका छानामुनि कष्टकर जीवन बिताउन बाध्य छन् ।
रासस

प्रकाशित मिति : १७ कार्तिक २०७४, शुक्रबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।