९ बैशाख २०८१, आइतबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

इलाममा वाम गठबन्धनद्वारा निर्वाचन गतिविधि तीव्र




इलाम
, १३ कात्तिक । वाम गठवन्धन, इलामले आसन्न मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनका लागि ११ सदस्यीय संयुक्त निर्वाचन परिचालन समिति गठन गरेको छ ।

वाम गठबन्धन निर्वाचन परिचालन समितिमा नेकपा एमालेका तर्फबाट रामबहादुर राना, भक्त केसी, महेश बस्नेत, गणेश बराल, नवराज शंकर, चित्रकला बराइली तथा नेकपा माओवादी केन्द्रका तर्फबाट कान्छा लावती, सिन्धु राई, राज राई, तेजबहादु राई र अनिल बराइली रहेका छन् ।

समितिले कात्तिक १३ गतेदेखि निर्वाचन लक्षित कार्यक्रमहरू तय गरेको छ । गठबन्धनले आगामी कात्तिक १३ गते क्षेत्र नं १ को फिक्कल तथा क्षेत्र नं २ को मङ्गलबारेमा निर्वाचन क्षेत्रस्तरीय भेला आयोजना गरी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय निर्वाचन परिचालन कमिटीहरू गठन गर्ने जनाएको छ ।

कात्तिक १५ गते मोर्चा, संगठनको संयुक्त बैठक बसाइसक्न जनसंगठनलाई निर्देशन दिइएको छ । सोही दिन नै जिल्ला समन्वय समितिको सभाकक्षमा वाम गठबन्धनका तर्फबाट इलाम जिल्लाका उम्मेदवारको संयुक्त पत्रकार सम्मेलन गरिने बताइएको छ ।

कात्तिक १६ गते विशाल जनसमुदायको उपस्थितिमा वाम गठबन्धनका सम्पूर्ण उम्मेदवारको मनोनयन दर्ता गरिने भएको छ । त्यसैगरी, सोही दिन अपराह्न २ बजे सदरमुकामस्थित गौतमबुद्ध सभागृहमा केन्द्रीय नेताले सम्बोधन गरी संयुक्त जिल्लास्तरीय अगुवा कार्यकर्ता भेला आयोजना गरिने भएको छ ।

कात्तिक १७ गते जिल्लास्तरीय कार्यदलको समीक्षा बैठक बस्नेछ । कात्तिक १८ गते देउमाई नगरपालिका, सन्दकपुर, रोङ र चुलाचुली गाउँपालिका, कात्तिक १९ गते इलाम, माई नगरपालिका, माईजोगमाई र माङसेवुङ गाउँपालिका तथा कात्तिक २० गते सूर्योदय नगरपालिका र फाकफोकथुम गाउँपालिकामा संयुक्त कार्यकर्ता भेला गरिने परिचालन समितिका सदस्य महेश बस्नेतले बताए ।

निर्वाचनको तयारी शुरु
यसैबीच, दोस्रो चरणअन्तर्गत आगामी २१ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय, इलामले तयारी शुरु गरेको छ ।

निर्वाचन आयोगबाट प्राप्त निर्देशनका आधारमा जिल्ला निर्वाचन कार्यालयले निर्वाचनको तयारी युद्धस्तरमा शुरु गरेको हो । अभिमुखीकरण, निर्वाचन शिक्षा कार्यकर्ता छनोट र जनशक्ति विवरण संकलनको काम धमाधम भइरहेको कार्यालयले जनाएको छ ।

निर्वाचन कार्यालयले मतदानस्थल र मतदान केन्द्र निर्धारण सम्पन्न गरी जिल्लाका १० वटै स्थानीय तहका कार्यकारी अधिकृतलाई निर्वाचन शिक्षासम्बन्धी अभिमुखीकरण सम्पन्न गरेको छ । जिल्लामा १४४ मतदानस्थल र २६६ मतदान केन्द्र कायम भएका छन् ।

त्यस्तै, कार्यालयले निर्वाचन शिक्षा कार्यकर्ताको छनोट शुरु गरेको छ । मतदान प्रक्रियाका बारेमा प्रत्येक मतदातालाई शिक्षित बनाउन निर्वाचन शिक्षा कार्यकर्ताका रुपमा सामाजिक परिचालक र बाल शिक्षाका सहयोगी कार्यकर्तालाई परिचालन गरिने निर्वाचन कार्यालयका सूचना अधिकारी कृष्णकुमार लिम्बूले जानकारी दिए । प्रत्येक मतदान केन्द्रमा एकजना निर्वाचन शिक्षा कार्यकर्ता पर्ने गरी २६६ निर्वाचन शिक्षा कार्यकर्तालाई परिचालन गर्न लागिएको छ ।

लिम्बूका अनुसार यसअघि स्थानीय तहको निर्वाचनमा निर्वाचन शिक्षाका रुपमा काम गरेका २४४ लाई यथावत् खटाइनेछ । बाँकी २२ जना नयाँ थप गरिनेछ । त्यसका लागि स्थानीय तहसंग नाम माग गरिएको उनले जानकारी दिए । नामावली प्राप्त भएपछि एकदिने निर्वाचन शिक्षासम्बन्धी तालीम दिएर २१ कात्तिकदेखि एक महिनाका लागि खटाइने उनको भनाइ छ ।
रासस

प्रकाशित मिति : १३ कार्तिक २०७४, सोमबार ००:००