८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उम्मेदवार मतदाताको घरदैलोमा




बागलुङ
, १० कात्तिक । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि जनमत बढाउन दलहरुले घरदैलो अभियान शुरु गरेका छन् । वाम गठबन्धन र कांग्रेसका उम्मेदवारहरु मतदाता फकाउन व्यस्त छन् ।

प्रचारमा अघि देखिएको वाम गठबन्धनलाई पछ्याउँदै नेपाली कांग्रेसले आज (शुक्रबार) देखि घरदैलो अभियान शुरु गरेको छ । वाम गठबन्धले भने बुधबार बागलुङ नगरपालिका १ बाट जन भेटघाट शुरु गरेको थियो ।

सबै दलले उम्मेदवारसहित जिल्लास्तरीय नेता, कार्यकर्तालाई अभियानमा परिचालन गरेका छन् । वाम गठबन्धनले बागलुङ नगरपालिका १ र ३ को कार्यक्रमपछि शुक्रबार वडा नं ४ मा घरदैलो अभियान चलाएको छ । गठबन्धनले शुक्रबार नै वडा नं २ जिपपार्कमा निर्वाचन सम्पर्क कार्यालय स्थापना गरेको नेकपा एमालेका जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटाले बताए । उनका अनुसार चुनाव प्रचारप्रसारलाई व्यवस्थित बनाउन विभिन्न कमिटीहरु परिचालन गरिएको छ ।

अहिले किसान काममा व्यस्त हुने याम भएकाले भेला, सभाभन्दा घरदैलो अभियान बढी प्रभावकारी देखिएको अध्यक्ष सापकोटाको भनाइ छ । गठबन्धनले शुरुमा केही ठाउँमा कोण सभा आयोजना गरे पनि उपस्थिति न्यून भएपछि अभियानको स्वरुप बदल्ने निर्णय गरेको छ । “सबै काममा व्यस्त भएकाले सभा, भेला प्रभावकारी देखिएन” अध्यक्ष सापकोटाले भने, “घरदैलो अभियानमा जोड दिएका छौँ ।”

यता, कांग्रेसले पनि चुनावी अभियानलाई चुस्त र प्रभावकारी बनाउन एक हजार एक सदस्यीय चुनाव परिचालन कमिटी बनाएको छ । कांग्रेसले आज बिहानदेखि बागलुङ नगरपालिका १ रामरेखाबाट प्रचार शुरु गरेको छ । कांग्रेसले पनि मतदातासम्मै पुग्न घरदैलो अभियानलाई प्राथमिकता दिएको नेपाली कांग्रेस बागलुङका सचिव नवराज पौडेलले जानकारी दिए ।

“प्रतिनिधि सभाका २ र प्रदेश सभाका ४ निर्वाचन क्षेत्रमा ठूला चुनावी सभाको समेत आयोजना गरिने उनको भनाइ छ । केन्द्रीय नेताको उपस्थितिमा मुख्य ठाउँमा आमसभा राख्छौँ” सचिव पौडेलले भने । वामहरु अलग–अलगरुपमा चुनाव लड्दा अघिल्ला चुनावमा फाइदा लिएको कांग्रेसलाई यसपालि गठबन्धन बनेपछि चुनौती थपिएको छ ।

जिल्लामा वाम गठबन्धन र कांग्रेसबीच नै मुख्य प्रतिस्पर्धा हुने भएको छ । नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा मिलेर बनेको वाम गठबन्धनसंग कांग्रेस एक्लैले चुनाव लड्दैछ । प्रतिनिधि सभाका २ र प्रदेश सभाका ४ निर्वाचन क्षेत्रमा कांग्रेसले एकल उम्मेदवारी दिँदै चुनावी मैदानमा छ ।

वाम गठबन्धका तीन दलले भने निर्वाचन क्षेत्र बाँडेर चुनावी प्रतिस्पर्धामा छन् । कांग्रेसले क्षेत्र नं १ बाट प्रतिनिधि सभाका लागि सहकारी तथा गरिबी निवारण राज्य मन्त्री चम्पादेवी खड्का चुनाव लड्दै छन् ।

क्षेत्र नं २ बाट भने पूर्व सांसद नीरज पुन उम्मेदवार बनेका छन् । यस्तै, कांग्रसबाट क्षेत्र नं १ को प्रदेश सभा क मा जिल्ला पार्टी सभापति दीपेन्द्रबहादुर थापा र ख मा पूर्व सांसद प्रकाश शर्मा पौडेल चुनावी प्रतिस्पर्धामा छन् । कांग्रेसले क्षेत्र नं २ को प्रदेश सभा क मा मञ्जेशबम मल्ल र ख मा जित शेरचनलाई उम्मेदवार बनाएको छ ।

वाम गठबन्धनका तर्फबाट प्रतिनिधि सभा क्षेत्र नं १ बाट एमालेका सूर्य पाठक र क्षेत्र नं २ बाट माओवादी केन्द्रका केन्द्रीय नेता देवेन्द्र पौडेल प्रतिस्पर्धामा छन् । क्षेत्र नं १ को प्रदेश सभा क मा एमालेका जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटा, ख मा राष्ट्रिय जनमोर्चाका कृष्ण थापा चुनावी मैदानमा छन् ।

क्षेत्र नं २ को प्रदेश सभा क मा माओवादी केन्द्रका चन्द्रबहादुर बुढा ‘सागर’ र ख मा राष्ट्रिय जनमोर्चाका टेकबहादुर घर्ती चुनावी प्रतिस्पर्धामा छन् ।
रासस

प्रकाशित मिति : १० कार्तिक २०७४, शुक्रबार ००:००