१२ चैत्र २०८०, सोमबार | Tue Mar 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आठराई गाउँपालिकालाई जग्गा दिन होडबाजी




तेह्रथुम
, २७ असोज । तेह्रथुमको आठराई गाउँपालिकालाई भवन निर्माणका लागि जग्गा दिन चाहनेको होडबाजी नै चलेको छ । गाउँपालिकाले संयुक्त सरकारी भवन निर्माणका लागि गाउँपालिकाको केन्द्र संक्रान्तिबजार आसपास ऐलानी जग्गाले नछोएको जग्गा दिन चाहने जग्गाधनीबाट आवेदन माग गरेको थियो ।

गाउँपालिकाको भवन निर्माणसंगै आसपासमा बजार विकास हुने र जग्गाको मूल्य बढ्ने भएकाले निःशुल्क जग्गा दिन जग्गाधनीबीच होडबाजी चलेको हो । गाउँपालिकालाई छ रोपनीदेखि ३१ रोपनीसम्म जग्गा निःशुल्क उपलब्ध गराउछु भन्दै छ वटा निवेदन परेको छ । बजार नजिकको आफ्नो ३१ रोपनी जमिन गाउँपालिकालाई उपलब्ध गराउने भन्दै स्थानीय रमेश सिटौलाले आवेदन गरेका छन् ।

यस्तै, गोपाल गुरुङ, कोषराज प्याकुरेल, तुलसा सिटौला, महेन्द्र विमली र झुमनाथ काफ्लेले पनि छ—छ रोपनी जमीन दिने आवेदनमार्फत बताएको गाउँपालिकाका कम्प्युटर अपरेटर कृष्ण चौलागाईंले बताए ।

वरिपरि सरकारी जग्गा नरहेको जग्गामध्ये बजार विस्तारका लागि उपयुक्त हुने जग्गा छनोट गरी लिइने सामान्य मापदण्ड तयार भएको गाउँपालिकाका अध्यक्ष मानबहादुर लिम्बूले बताए ।

“गाउँपालिकालाई एउटामात्रै जग्गा चाहिएको हो” उनले भने, “छ जना जग्गाधनीले आवेदन गर्नुभएको छ, हामी एउटा आधार तय गरेर उहाँहरुको जग्गा लिन्छौँ ।” गाउँपालिकाले कम्तीमा छ रोपनी जग्गा उपलब्ध गराइनुपर्ने सर्त राखेको छ ।

तर गाउँपालिकाको पहिलो सभाले जग्गा अधिग्रहणका सम्बन्धमा निर्णय लिएपछि मात्रै जग्गा लिने प्रक्रिया अघि बढ्ने उनको भनाइ छ । गाउँपालिकाको कार्यालय सञ्चालनका लागि अहिले आफ्नै भवन नहुँदा घर भाडामा लिएर कार्यालय सञ्चालन भइरहेको छ । साँघुरा कोठामा कार्यालयको कार्यसम्पादन गर्नुपर्दा समस्या हुनेगरेको कर्मचारी बताउँछन् ।

गाउँपालिकाको कार्यालय भवन निर्माणका लागि यसअघि नै सरकारले छ करोड बजेट उपलब्ध गराउने जनाइसकेको छ । जग्गा लिएपछि यही वर्षबाट भवन निर्माणको काम पनि सुरु गरिने अध्यक्ष लिम्बूले बताए ।
रासस

प्रकाशित मिति : २७ आश्विन २०७४, शुक्रबार ००:००