११ चैत्र २०८०, आइतबार | Sun Mar 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

२ बर्षभित्र तुईन हटाएर पुल निर्माण गर्ने सरकारी घोषणा असफल



 

रञ्जित तामाङ
काठमाडौं ७ असाेज ।

२ बर्षभित्र तुइन हटाएर पुल निर्माण गरेर पुल सरकारी घोषणा असफल भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले २०७२ असोज २५ गते प्रधानमन्त्री भएलगत्तै देशभरबाट तुइन बिस्थापित गरेर पुल निर्माण गर्ने घोषणा गरेका थिए । स्थानीय पूर्वाधार तथा कृषी सडक (डोलीडार) विभागका अनुसार देशभर १ सय ७१ स्थानमा तुइन पहिचान भएको थियो ।

त्यसमध्ये १ सय ४८ स्थानमा पूल बनाउनै पर्ने र बाँकी २३ ठाउँमा तुइन बिस्थापन मात्रै गरे पुग्ने अवस्था थियो । “२३ ठाउँमा चाँही तुइन नजिकै मोटरेवल वा झोलङ्गे पुल बनिसकेको थियो, त्यसैले तुइन मात्रै बिस्थापित गर्याैं,” डोलीडारका महानिर्देशक जिवनकुमार श्रेष्ठले भने ।

श्रेष्ठका अनुसार १ सय ४८ झोलुङ्गे पुलमध्ये अहिलेसम्म ६२ वटा मात्रै निर्माण सम्पन्न भएका छन् भने बाँकी ८६ वटा निर्माण प्रक्रियामा छन् । “तुइनहरू बिस्थापित गराई सक्यौं, देशभर कहिँ पनि छैन । तर पुल कतै बनिसक्यो, कतै बन्दैछ,” श्रेष्ठले भने । तुईन हटाएका ३ ठाउँमा भने लामो दूरीको मल्टीस्पान पुल बनाउनु पर्नेछ ।

लक्ष्यअनुसार निर्माण सम्पन्न नहुनुमा सबैभन्दा ठूलो कारण तुईन भएका स्थानहरूको पहिचान नहुनु थियो । तत्कालिन प्रधानमन्त्री ओलीले घोषणा गरेकै दिन श्रेष्ठ आफैंले साँझसम्म कार्यालयमा बसेर तुइनको तथ्यांक संकलन गरेका थिए ।

सुरूमा देशभर ३ सय ७० भन्दा बढी ठाउँमा तुइन भएको भनिए पनि ६ महिनापछि १ सय ७१ ठाउँमा मात्रै भएको पुष्टि भएको थियो । त्यसमध्ये पनि २३ ठाउँमा तुइन हटाए मात्रै पुग्ने देखिएको थियो । यसैगरि भारतले नेपालमाथी गरेको नाकाबन्दीका कारण पनि पुल निर्माणमा ढिलाई भएको हो ।

झोलुङ्गे पुलको सामान उत्पादन गर्ने नीजि कम्पनीहरूले इन्धन अभावका कारण समयमा उत्पादन गर्न र ढुवानी गर्न सकेका थिएनन् । साथै पुलका लागी चाहिने लठ्ठालगायतका सामानहरू भारतबाट आयात गर्नुपर्ने बाध्यता छ ।

५ बर्षमा २५ सय पुलको लक्ष्य पनि कठिन !

तुइन बिस्थापनको बाहेक डोलीडारले बर्षेनी ४ देखि ५ सयको संख्यामा झोलुङ्गे पुल निर्माण गर्दै आएको छ । सरकारले आर्थिक बर्ष ०७१/७२ मा ५ बर्षभित्र २ हजार ५ सय झोलुङ्गे पुल निर्माण गर्ने घोषणा गरेको थियो ।

बार्षिक ५ सयका दरले पुल बनाउने लक्ष्य लिए पनि घोषणा गरेको बर्ष ३ सय ७४ वटा मात्रै निर्माण भएको थियो । यसैगरि आव ०७२/७३ मा ४ सय २२ र गत बर्ष ५ सय ५० वटा झोलुङ्गे पुल निर्माण भएको थियो । लक्ष्य पुरा गर्न डोलीडारले अबको २ बर्षभित्र १ हजार १५४ वटा पुल बनाउनु पर्नेछ ।

यस बर्ष झोलुङ्गे पूलसहित डोलिडारका विभिन्न ठूला परियोजनाहरूको बजेट अझै विनियोजन हुन सकेको छैन । तर पनि यस बर्ष मात्रै ६ सय वटा पुल निर्माण गर्ने लक्ष्य रहेको महानिर्देशक श्रेष्ठले बताए । लक्ष्यअनुरुप बजेट विनियोजन नभए, ठेकेदारले काम नगरे लक्ष्य प्राप्त गर्न गाह्रो हुने देखिन्छ ।

 

प्रकाशित मिति : ७ आश्विन २०७४, शनिबार ००:००