Logo

राजविराज नगरपालिकामा संघीय समाजबादी फाेरम अगाडि, तिरहुत गाउँपालिकामा विजयी




राजविराज
, ६ असोज । सप्तरीको राजविराज नगरपालिकामा बिहिबारदेखी शुरु भएको मतगणना अझै जारी रहेको छ । राजविराज नगरपालिकामा संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालबीच कडा प्रतिस्पर्धा छ ।

पछिल्लो पटक जिल्ला निर्वाचन कार्यालयले दिएको मतपरिणाम अनुसार संघीय समाजवादी फोरम नेपालका प्रमुख पदका उम्मेदवार भीमराज यादवले ६३ मत प्राप्त गरी पहिलो स्थानमा छन् । फोरम नेपाललाई पछ्याउँदै राष्ट्रिय जनता पार्टी नेपालका शम्भु यादवले ५० मत प्राप्त गरेका छन् ।

त्यस्तै, नेकपा एमालेका शुखराम यादवले ३५ मत ल्याएर तेस्रो स्थानमा छन् । नेकपा माओवादी केन्द्रका अनिस अन्सारीले ३५ मत प्राप्त गरेको बताइएको छ । नेपाल लोकतान्त्रिक फोरमका शैलेश चौधरी २४ र नेपाली कांग्रेसका ध्रुवदेवले १२ मत प्राप्त गरेको बताइएको छ ।

यसैगरी, हनुमाननगर कंकालनी नगरपालिकामा पनि संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टीबीच कडा प्रतिस्पर्धा रहेको पाइएको छ । पछिल्लो परिणाम अनुसार संघीय समाजवादी फोरम नेपालका प्रमुख पदका उम्मेदवार वीरेन्द्र माझीले तीन हजार ११२ मत प्राप्त गरी अगाडि छन् । उहाँका निकटतम प्रतिद्वन्द्वी राजपा नेपालका प्रमुख उम्मेदवार शैलेशकुमार साह दुई हजार ६१० मत प्राप्त गरी दोस्रो स्थानमा रहेको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।

यसैबीच, अन्य स्थानीय तहमा शान्तिपूर्णरुपमा मतगणना भइरहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख महेश ठाकुरले जानकारी दिए ।

तिरहुतमा संघीय समाजबादी फोरम नेपाल विजयी
यसैबीच, सप्तरीको तिरहुत गाउँपालिकामा संघीय समाजवादी फोरम नेपालका प्रमुख पदका उम्मेदवार हेमन्तकुमार बहडखेर (यादव)ले दुई हजार ९४२ प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी राजपा नेपालका विजय यादवले दुई हजार १०४ मत प्राप्त गरेका छन् ।

त्यस्तै, संघीय समाजवादी फोरम नेपालकै उपप्रमुख पदका उम्मेदवार तीर्थमाया मण्डल (खत्बे) ले दुई हजार ७४० मत ल्याएर विजयी विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी राजपा, नेपालका गीताकुमारी यादवले एक हजार ३२२ मत प्राप्त गरे ।
रासस

प्रतिक्रिया दिनुहोस्