सल्लेरी— सोलुखुम्बु, ५ असोज । दूधकोशी गाउँपालिकाको पहिलो गाउँसभाले नीति तथा कार्यक्रमको साथमा चालु आर्थिक बर्ष २०७४/७५ को बजेट सार्वजनिक गरेको छ ।
बुधबार सम्पन्न गाउँसभाले २१ करोड ८० लाख ७ हजारको बजेट सार्वजनिक गरेको हो । सडकलाई प्राथमिकता दिँदै बजेट सार्वजनिक गरिएको गाउँपालिकाका उपाध्यक्ष जुनिता मगरले जानकारी दिइन् । उक्त बजेट गाउँपालिकाको विकास र समृद्धिका लागि हरेक वडा कार्यालयसम्म सडक सञ्जाल पुर्याउने गरी विनियोजन गरिएको छ ।
त्यस्तै, वडातर्फ ७ करोड २३ लाख तथा गाउँपालिकातर्फ चार करोड २४ लाख विनियोजन गरिएको छ । सशर्त अनुदानमा आठ करोड ६४ लाख ९५ हजार बजेट रहेको छ । सार्वजनिक नीति तथा कार्यक्रमले एकै वर्षमा परिर्वतनको महसुस गर्न सकिने गाउँपालिकाका अध्यक्ष बुद्धिकिरण राईको भनाइ छ ।
सोलुदूधकुण्डको बजेट ४४ करोड ९२ लाख
जिल्लाको एक मात्र नगरपालिका सोलुदूधकुण्डले चालु आर्थिक बर्ष २०७४/७५ का लागि ४३ करोड ९२ लाख ५१ हजार बजेट पारित गरेको छ ।
सडकलाई प्राथमिकतामा राख्दै बजेट पारित गरेको हो । सडक स्तरोन्नतितर्फ १८ करोड ३१ लाख २५ हजार, सडक विस्तारका लागि ७५ लाख, पर्यटन पूर्वाधारका लागि एक करोड ३३ लाख २५ हजार, शिक्षामा ९७ लाख ५० हजार र स्वास्थ्यमा ४५ लाख विनियोजन गरिएको नगर प्रमुख नाम्गेल जाङ्बु शेर्पाले जानकारी दिए ।
नगरसभाले तरकारी तथा फलफूल बजारको स्थापनासहित कृषिमा ५५ लाख, सडक सौर्य बत्तीसहित ऊर्जामा ६९ लाख, खानेपानी योजनामा ५५ लाख, नगरपालिकाको १० वटै वडामा इमेल इन्टरनेटको पहुँच पुर्याउनका लागि १५ लाख, सङ्घसंस्था अनुदान तथा मागमा आधारित साझेदारी कार्यक्रम सञ्चालनका लागि ३५ लाख, दैवीप्रकोप राहत तथा उद्धार कोषका लागि १० लाख र भैपरी आउने खर्चका लागि २५ लाख विनियोजन गरिएको छ ।
यस्तै, नगरपालिकाले आफ्नै नगर प्रहरीको व्यवस्था गर्ने निर्णय गरेको छ । सो कार्यका लागि ५० लाख बजेटको व्यवस्था गरेको छ ।
रासस
प्रतिक्रिया