१४ चैत्र २०८०, बुधबार | Wed Mar 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिरहामा १८ वटा वडाको मतपरिणाम, माओवादी केन्द्र अगाडि




लहान,
४ असोज । स्थानीय तह निर्वाचनअन्तर्गत असोज २ गते सम्पन्न मतदानको गणना कार्य सिराहमा जारी छ । बुधबार बिहानसम्म सिरहामा विभिन्न स्थानीय तहका १८ वटा वडाको मतगणना सकिँदा नेकपा माओवादी केन्द्रले आठ वडा जितेको छ भने नेकपा एमाले, संघीय समाजवादी फोरम नेपालले तीन—तीन र नेपाली कांग्रेस र राजपाले दुई—दुई वडामा विजय हासिल गरेका छन् ।

पछिल्लो प्राप्त परिणामअनुसार सिरहाको गोलबजार नगरपालिका १ मा माओवादी केन्द्रका देवबहादुर मगर प्यानलसहित विजयी भएका छन् भने धनगढीमाई नगरपालिका ३ मा पनि माओवादी केन्द्रकै देवन साह प्यानलसहित विजयी भएका छन् ।

अर्नमा गाउँपालिका १ मा वडाध्यक्ष माओवादी केन्द्रका उम्मेदवार गफार मियाँ ७२४ मत ल्याएर प्यानलसहित विजयी भएका छन् भने अर्नामा २ मा माओवादीकै गंगाप्रसाद महतो ५२३ मतसहित प्यानल नै विजयी भएका छन् ।

मिर्चैया नगरपालिका १ मा माओवादी केन्द्रका धनिकलाल यादव ८९९ मतसहित प्यानलसहित विजयी भएका छन् भने विष्णुपुर गाउँपालिका १ मा कोविन्द यादव ५१६ मत ल्याई प्यानलसहित विजयी भएको जिल्ला निर्वाचन कार्यालय सिरहाले जनाएको छ । योसंगै माओवादी केन्द्रले सिराहमा आठवटा वडामा जित हात पारेको छ ।

यसअघि माओवादी केन्द्रले सिरहाको कर्जन्हा नगरपालिकाको वडा नम्बर १ र ३ मा वडाध्यक्ष पदमा विजय हासिल गरेको थियो । कर्जन्हा नगरपालिका १ मा माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार मोहनबहादुर खत्री र सोही नगरपालिकाको वडा नम्बर ३ मा माओवादी केन्द्रकै कपलेश्वर यादव विजयी भएका छन् ।

यस्तै, सिरहाको नवराजपुर गाउँपालिका १ मा एमालेका रामअवतार यादव ९३६ मतसहित विजयी भएका छन् । एमालेले धनगढीमाई नगरपालिका १ मा पनि सफलता हात पारेको छ । एमालेका वडाध्यक्षका उम्मेदवार सूर्यनारायण महतो प्यानलसहित विजयी भएका छन् । कर्जन्हा २ मा एमालेका गणेशकुमार अधिकारी ४६६ मतसहित विजयी भएका छन् ।

यस्तै, संघीय समाजवादी फोरम नेपालले सिरहाको भगवानपुर, औरही र विष्णुपुरको एक—एक वडामा विजय हासिल गरेका छन् । औरही गाउँपालिका १ मा संघीय समाजवादी फोरम नेपालका वडाध्यक्षका उम्मेदवार सुरतलाल ठाकुर ५४७ मतसहित विजयी भएका छन् भने भगवानपुर गाउँपालिका १ का संघीय समाजवादी फोरम नेपालकै वडाध्यक्षका उम्मेदवार बद्रीनारायण यादव विजयी भएको जिल्ला निर्वाचन कार्यालय सिरहाले जनाएको छ । विष्णुपुर गाउँपालिका वडा नम्बर ५ मा कपिलदेव यादव प्यानलसहित विजयी भएका छन् ।

यस्तै, नवराजपुर वडा नम्बर २ मा नेपाली कांग्रेसका खुशीलाल साह २९४ मत प्राप्त गरी प्यानलसहित विजयी भएका छन् । यसअघि लहान नगरपालिका २ मा नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवार शियाराम यादव ३४९ मत ल्याएर प्यानलसहित विजयी भएका थिए ।

सिरहाको कल्याणपुर नगरपालिकाको वडा नम्बर १ र २ मा राजपाका वडाध्यक्षका उम्मेदवार प्यानलसहित विजयी भएका छन् । कल्याणपुर नगरपालिका १ मा ५१२ मतसहित राजपाका वडाध्यक्षका उम्मेदवार विशेश्वर मुखिया र वडा नम्बर २ मा सोही पार्टीका वडाध्यक्षका उम्मेदवार जयराम कामती विजयी भएका छन् ।

त्यसैगरी, विवादका कारण स्थगित भएको सिरहाको लहान नगरपालिकाको मतगणना कार्य बुधबार बिहानदेखि पुनः सुचारु भएको छ । निर्वाचन अधिकृत र दलका प्रतिनिधिबीच विवाद भएका वडाका खोलिएका मतपत्रलाई पुनः गणना गर्न सिलबन्दी गर्ने र अरु बाँकी वडाको मतगणना अगाडि बढाउने सहमति भएपछि बिहान ६ बजेदेखि सुचारु भएको संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य सत्यनारायण यादवले जानकारी दिए ।

लहान नगरपालिका ३ को मतगणनाको क्रममा नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवारले केही मतको अग्रता लिएपछि संघीय समाजवादी फोरम नेपालका प्रतिनिधिले पुनः मतगणनाको माग गर्दै विरोध गरेपछि लहान नगरपालिकाको मतगणना कार्य मंगलबार दिउँसो २ बजेदेखि मतगणना कार्य अवरुद्ध भएको थियो ।

लहान नगरपालिकाको हालसम्मको मत परिणाम अनुसार नेकपा एमाले ले अग्रता लिएको छ । प्रमुखमा एमाले १०३३, राप्रपा ८७४, नेपाली कांग्रेस ८११, संघीय समाजवादी फोरम नेपालले ७४७ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
रासस

प्रकाशित मिति : ४ आश्विन २०७४, बुधबार ००:००