२ श्रावण २०८२, बिहिबार | Fri Jul 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कानून अभावमा निर्वाचन रोकिँदैनः कानूनमन्त्री




पोखरा
, १ असोज । कानून, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले कानूनको अभावमा देशका कुनै पनि निर्वाचन नरोकिने बताएका छन् ।

पोखराबाट प्रकाशन हुने ‘समाधान’ राष्ट्रिय दैनिकको १६औँ वार्षिकोत्सव समारोहमा बोल्दै उनले संविधानको कार्यान्वयनका लागि सबै तहका निर्वाचन सम्पन्न गर्नुपर्ने दायित्वलाई आत्मसात् गर्दै दृढ विश्वासका साथ आवश्यक कानून निर्माणको कार्य अघि बढेको बताए ।

सो अवसरमा व्यवस्थापिका–संसद्, विकास समितिका सभापति रवीन्द्र अधिकारीले अबको पत्रकारिता विकास र समृद्धिका लागि र राजनीति विकासका लागि हुनुपर्नेमा जोड दिँदै सञ्चार जगत् निराशा नभई सकारात्मक सोच र धारणा अभिवृद्धि गराउनेतर्फ उन्मुख बन्नुपर्नेमा जोड दिए ।

‘समाधान’ का प्रधानसम्पादक नारायण कार्कीले आगामी दिनमा निरन्तर रचानात्मक सुझाव तथा सहयोगको माग गरे । पत्रिकाका सम्पादक रामकृष्ण ज्ञवालीले पत्रकारिता क्षेत्रमा नै अघोषित प्रतिबन्ध जस्तो जर्जरपूर्ण अवस्थामा २०५९ असोज १ देखि समाजलाई सुसूचित गर्ने लक्ष्यका साथ सञ्चालित पत्रिकाले जनताका लागि निरन्तर पत्रकारिता गर्दै आएको बताए ।

समाधान मिडिया प्रालिका अध्यक्ष उमानाथ बरालको अध्यक्षतामा भएको कार्यक्रममा यस वर्षको उत्कृष्ट वितरक सम्मान कृष्ण नेपाली, उत्कृष्ट बजार सम्मान महेन्द्र ढुंगाना र उत्कृष्ट समाचारदाता सम्मान अर्जुन गिरीलाई दिइएको थियो ।
रासस

प्रकाशित मिति : १ आश्विन २०७४, आइतबार ००:००