१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निर्वाचन निष्पक्ष बनाउनुपर्नेमा जोड




सप्तरी
, २२ भदौ । सप्तरी जिल्लाका मुख्य निर्वाचन अधिकृत शम्भु कोइरालाले यही असोज २ गते हुने स्थानीय तहको निर्वाचनलाई मर्यादित र सफल बनाउन राष्ट्र सेवक कर्मचारीको ठूलो भूमिका रहेकाले त्यसअनुसार निष्पक्ष एवं स्वतन्त्ररुपमा निर्वाचन गराउन लाग्नुपर्ने बताएका छन् ।

निजामती सेवा दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले निर्वाचनको काम सरकारको काम भएको र त्यो जिम्मेवारी सबैले आफ्नो सम्झेर पुरा गर्नुपर्ने बताए ।

निर्वाचन आयोगबाट अनुगमनमा आएका सहसचिव छविन्द्र पराजुलीले स्थानीय तहको निर्वाचनका लागि सप्तरी जिल्ला अत्यन्त संवेदनशील रहेको उल्लेख गर्दै निर्वाचनलाई निष्पक्ष स्वतन्त्र र धाँधलीरहित बनाउन सबैलाई आग्रह गरे ।

सप्तरीका प्रजिअ भागिरथ पाण्डेले जनताको अधिकार जनतालाई दिने र जनतालाई सार्वभौम सम्पन्न गराउन स्थानीय तहको निर्वाचन भएकाले निर्वाचनलाई शान्तिपूर्ण सम्पन्न गराउन स्थानीय प्रशासन लागेको जानकारी दिए ।

सोही कार्यक्रममा निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन सप्तरीका अध्यक्ष अजयकुमार झाले निर्वाचनमा ट्रेड युनियनको सहयोग रहने बताउँदै निजामती सेवाको नाम परिवर्तन गरी नागरिक सेवा नामाकरण गर्नुपर्ने र निजामती सेवामा काम गर्नेबीच सरकारले भेदभाव गरेको हुँदा सेवा सुविधामा एकरुपता ल्याउनुपर्नेमा जोड दिए । कार्यक्रममा निजामती प्रहरी प्रशासन र संस्थानका प्रमुख तथा कर्मचारीको सहभागिता रहेको थियो ।
रासस

प्रकाशित मिति : २२ भाद्र २०७४, बिहिबार ००:००