७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तथ्याँक नआउँदा प्रतिव्यक्ति दैनिक ७० रूपैँयाँ वितरणमा समस्या




रत्ननगर
— चितवन, २१ भदौ । चितवनमा बाढी प्रभावित व्यक्तिको संख्या यकिन नहुँदा राहत वितरण प्रभावित भएको छ । सरकारबाट प्राप्त प्रतिव्यक्ति दैनिक ७० रूपैँयाँ राहत रकम, संख्या यकिन नहुँदा राम्ररी वितरण गर्न सकिएको छैन ।

जसका कारण एउटा नगरपालिकाबाहेक अन्य नगरपालिका र भरतपुर महानगरमा घरधुरीको आधारमा मात्रै न्यून राहत उपलब्ध गराइएको जिल्ला विपद् व्यवस्थापन समिति चितवनका स्रोत व्यक्ति हरिबाबु ढकालले जानकारी दिए । जिल्लामा बाढीबाट ४९९ घर पूर्ण क्षति भएको तथ्याँक छ । तर ती घरमा कतिजना मानिस प्रभावित भएका छन् भन्ने तथ्याँक माडी नगरपालिकाबाहेक अन्यबाट आउन नसकेको ढकाल बताउछन् ।

माडीमा व्यक्ति संख्याका आधारमा रकम वितरण भएपनि अन्य क्षेत्रमा प्रभावित व्यक्ति संख्या प्राप्त नभएकाले क्षति भएको घरलाई एकजना मानेर अहिलेसम्म १४ लाख ६३ हजार ८४० राहत वितरण भएको छ । सरकारबाट प्राप्त रकम प्रतिव्यक्ति दैनिक ७० रूपैँयाँका दरले भदौ महिनाभरको ३१ दिनको हिसाब गरेर सो रकम उपलब्ध गराइएको छ ।

माडीमा भने १२३ घरधुरी पूर्ण क्षति भएकोमा ३२३ जना प्रभावित भएको तथ्याँक आएकाले उनीहरुका लागि सात लाख ९१० राहत वितरण भएको समितिले जनाएको छ ।

यस्तै, भरतपुर महानगरमा ८२ घरका लागि एक लाख ७७ हजार ९४०, रत्ननगर नगरपालिकामा १११ घरका लागि दुई लाख ४० हजार ८७०, खैरहनी नगरपालिकामा ३६ घरलाई ७८ हजार १३०, राप्ती नगरपालिकामा १३१ पीडित घरका लागि दुई लाख ८४ हजार २७० वितरण भएको ढकालले जानकारी दिए ।

इच्छाकामना गाउँपालिका र कालिका नगरपालिकाका पीडितलाई भने राहत वितरण बाँकी रहेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । भदौ महिनामा बाढी पीडितले प्रतिव्यक्ति दुई हजार १७० राहत पाउँछन् । अहिले घरधुरीअनुसारको रकम पठाएकाले तथ्याँक आएपछि अन्य बाँकीलाई राहत वितरण गर्ने विपद् समितिले जनाएको छ ।

चितवनका प्रमुख जिल्ला अधिकारी तथा विपद् व्यवस्थापन समितिका संयोजक नारायणप्रसाद भट्ट राहत वितरण प्रभावकारी गर्न निर्देशन दिएको बताउछन् ।
रासस

प्रकाशित मिति : २१ भाद्र २०७४, बुधबार ००:००