९ बैशाख २०८१, आइतबार | Sun Apr 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विराटनगर महानगरको एक अर्व ६१ करोड बराबरको बजेट सार्वजनिक गर्ने तयारी




पथरी
— मोरङ, २० भदौ । विराटनगर महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले पहिलोपटक एक अर्व ६१ करोड बराबरको अनुमानित बजेट सार्वजनिक गर्ने तयारी गरेका छन् । यही भदौ २३ गते विराटनगरमा हुन गइरहेको नगर परिषद् बैठकले यति ठूलो आकारको बजेट सार्वजनिक गर्न लागेको हो । सो बजेट अहिलेसम्मको ठूलो हुने बताइएको छ ।

विराटनगर महानगरपालिकाका कार्यकारी अधिकृत दीपक कोइरालाका अनुसार बजेटको प्राथमिकता पूर्वाधार विकासमा छ । खाल्टाखुल्टी सडक निर्माणका लागि वडाबाट योजनाको छनोट भएर आएको छ । बजेटमा एशियाली विकास बैंकबाट सञ्चालित विराटनगरको बृहत्तर ढल, नाला निर्माणको बजेट यस वर्षको बजेटमा समावेश गरिने छैन ।

महानगरपालिकाबाटै सञ्चालन हुने उक्त आयोजनाको बजेट विगतको परिषद्मा समावेश हुने गर्थ्यो । कोइरालाका अनुसार महानगरपालिकाले यस वर्षको अनुमानित बजेटमध्ये करिब एक अर्ब विकासमा छुट्याउनेछ ।

‘धुवाँधुलोमुक्त शहरको परिकल्पना’ भन्ने नारासहित महानगरपालिकाले सडक पूर्वाधारमा विशेष जोड दिने नीति बनाएको छ । विषयगत कार्यालयहरु पशु, कृषि, स्वास्थ्य र शिक्षाका कर्मचारीको प्रशासनिक खर्चमात्र यो बजेटमा समावेश हुनेछ । कोइरालाले विषयगत र महानगरपालिकाका कर्मचारीका लागि ५० करोड तलवमा खर्च हुने र बाँकी रकमले नगरको विकास गरिने बताए ।

महानगरपालिका घोषणा हुनुअगावै सरकारले ८१ करोड बजेट विनियोजन गरेको थियो । उपमहानगरपालिका हुँदै दिएको रकम महानगरपालिका घोषणा भएपनि थप गरिएन । यस्तै महानगरपालिकाको वार्षिक अनुमानित आम्दानी २७ करोड, सडक बोर्ड, पूर्वाधार विकास, समपूरक कोषबाट प्राप्त हुने रकम, नेपाल सरकारले दिने विशेष अनुदान लगायतबाट महानगरपालिकाले अनुमान गरेको बजेट एक अर्ब ६१ करोड हुने कार्यकारी अधिकृत कोइरालाको भनाइ छ ।
रासस

प्रकाशित मिति : २० भाद्र २०७४, मंगलबार ००:००