२० बैशाख २०८१, बिहिबार | Fri May 3 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धौलागिरि गाउँपालिकाको केन्द्र घट्टेखोलामा सार्ने निर्णय




म्याग्दी
, २६ साउन । म्याग्दीको धौलागिरि गाउँपालिकाको स्थायी केन्द्र वडा नम्बर ३ को घट्टेखोला कायम गर्ने निर्णय भएको छ ।

साउन २३ र २४ गते लगातार दुई दिनसम्म मुनामा भएको गाउँसभा बैठकमा मुना र ताकममध्ये एक ठाउँलाई गाउँपालिकाको स्थायी केन्द्र कायम गर्ने विषयमा सहमति जुट्न नसकेपछि उपयुक्त स्थान पहिचानका लागि भूगर्भविद्को सहयोग लिने निर्णय भएको थियो ।

तर बुधबार गाउँसभाका एकतिहाइ सदस्यले हस्ताक्षरसहित पुनः गाउँसभा आह्वान गर्न लिखित आग्रह गरेपछि बैठकले निरन्तरता पाएको थियो । दिउँसो ११ बजेदेखि राति १० बजेसम्म भएको छलफलबाट अन्ततः गाउँपालिकाको केन्द्र वडा नम्बर ३, मुनाको घट्टेखोलामा कायम गर्ने निर्णय भएको गाउँपालिकाका प्रवक्ता झकबहादुर छन्त्यालले जानकारी दिए ।

दिनभरको छलफलमा ताकम र मुना एकापसमा आफ्नो अडानबाट पछाडि नहटेपछि गाउँसभामा रहेका ३७ सदस्यमध्ये २९ सदस्यको हस्ताक्षरले घट्टेखोलामा गाउँपालिकाको केन्द्र राख्ने निर्णय गरेको प्रवक्ता छन्त्यालले बताए ।

सो निर्णयलाई गाउँ सभामा सहभागी नभएका थप तीन सदस्यले समेत सहमति गर्ने मौखिक खबर पठाएका थिए भने वडा नम्बर–७, ताकमका सबै सदस्यले सो निर्णयमा पूर्ण असहमति जाहेर गरेका छन् ।

सो गाउँ सभाले गाउँपालिका केन्द्रसंगै गाउँपालिकासंग सम्बन्धित मालपोत, नापीलगायतका शाखाको समेत पूर्वाधार घट्टेखोलामा निर्माण गर्ने निर्णय गरेको छ । अहिले अस्थायी केन्द्र रहेको मुना कार्यालयमा राजस्व तथा कर विभाग राख्ने, महिला, बालबालिका, भूसंरक्षण, खानेपानी, सिँचाइलगायतका विभागको पूर्वाधार वडा नम्बर ७ को मच्चीमस्थित महभीरमा निर्माण गर्ने, १५ शैयाको अस्पताल वडा नम्बर ७ को धारापानीमा निर्माण गर्ने निर्णय पनि गरेको छ ।

त्यस्तै, क्याम्पस तथा उच्च शिक्षा र शिक्षासंग सम्बन्धित विभाग वडा नम्बर ७ कै सिवाङमा राख्ने, कृषि, वन, पशुसेवा लगायतका सेवा कार्यालयको पूर्वाधार समेत वडा नम्बर–७, ताकममै राख्ने निर्णय भएको गाउँपालिकाका प्रवक्ता छन्त्यालले बताए ।
रासस

प्रकाशित मिति : २६ श्रावण २०७४, बिहिबार ००:००