मलेखु (धादिङ), २३ साउन । जिल्ला समन्वय समितिको आज (सोमबार) भएको निर्वाचनमा नेकपा एमालेका उम्मेदवारको पूरै समूह विजयी भएको छ ।
छब्बीस मतदाता रहेको धादिङ जिलला समन्वय समिति प्रमुखमा एमालेका जगन्नाथ नेपाल १७ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस र माओवादी केन्द्र गठबन्धनका तर्फबाट उम्मेदवार कांग्रेसका भक्त लामाले ८ मत प्राप्त गरे ।
त्यसैगरी उपप्रमुखमा एमालेका बिन्दा बरामु नेपाली १६ मत प्राप्त गरी विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस र माओवादी केन्द्र गठबन्धनका तर्फबाट उम्मेदवार भएका माओवादी केन्द्रका ध्रुव सुवेदीले ९ मत प्राप्त गरे ।
जिससका सदस्यमा एमालेकै कृष्ण अर्याल, खुनराज थापा, उर्मिला रेग्मी, कमलनारायण श्रेष्ठ, सान्नानी परियार, सावित्रा सुनार र उर्गेनवती तामाङ १६–१६ मत प्राप्त गरी विजयी भए ।
विजयी उम्मेदवारलाई आज (सोमबार)नै मुख्य निर्वाचन अधिकृत भरत लम्सालले शपथ गराए । निर्वाचनपछि कार्यभार सम्हाल्दै जिल्ला समन्वय समिति प्रमुख जगन्नाथ नेपालले जिल्लाको विकास निर्माणलगायत कार्यमा स्थानीय सरकारलाई सहयोग पुर्याउने र विकासका निम्ति लागिपर्ने बताए ।
रासस
प्रतिक्रिया