६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बक्यौता असुलका कारण काठमाडौं महानगरको आम्दानी बढ्यो



काठमाडौँ, १८ साउन । काठमाडौँ महानगरपालिकामा लामो समयदेखि उठ्न नसकेको बक्यौता रकम असुल गरेपछि ३२ करोड १० लाख रुपैयाँ लक्ष्यभन्दा बढी आन्तरिक आय संकल भएको छ । महानगरले आन्तरिक आम्दानी तर्फ २०७३/७४ मा १ अर्ब ४६ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य लिएकोमा १ अर्ब ८७ करोड रुपैयाँ आम्दानी गरेको छ ।

अघिल्लो आवको तुलनामा यस वर्ष सबैजसो बक्यौता रकम असूल भएका कारण आन्तरिक आय बढेको महानगरका राजस्व महाशाखा प्रमुख ध्रुब काफ्लेले जानकारी दिए । उनका अनुसार नेशनल ट्रेडिङले गत बर्ष १० करोड बक्यौता रकम तिरेको यियो । यसैगरि ट्रेड टावर, एभरेष्ट होटलबाहेक सबै ठूला होटलले बक्यौतासहित कर तिरेका कारण आम्दानी बढेको हो ।

आन्तरिक आम्दानीको शीर्षकमा सबैभन्दा बढी विज्ञापन करमा लक्ष्यभन्दा निकै बढी ७ करोड ७३ लाख असूल भएको छ । विज्ञापन कर ७२ लाख ७३ हजार रुपैयाँ उठाउने लक्ष्य लिइएको थियो ।

२०७२ साल भदौ १६ गते सर्वोच्च अदालतले विज्ञापन प्रचारप्रचारको सम्बन्धमा परमादेश जारी गरी सार्वजनिक सडकलगायतका स्थानमा पर्चा, पम्प्लेट टाँस्न नपाउने भनेपछि आदेशअनुसार कारबाही गरी सार्वजनिक स्थानमा भएको विज्ञापन हटाउँदा नियमानुसार रहेका विज्ञापन सबै करको दायरामा आएकाले विज्ञापन कर बढी असुल भएको हो ।

त्यसैगरी, बाह्य आम्दानीतर्फ गत वर्ष कामपाले १ अर्ब ८९ करोड २२ लाख रुपैयाँ आम्दानी गरेको छ । बाह्य आम्दानीअन्तर्गत नेपाल सरकारको अनुदान, नेपाल सरकारको स्थानीय विकास शुल्क तथा भगिनी सम्बन्ध भएका विदेशी सहरबाट आएको सहयोग आदि पर्दछन् । रासस

प्रकाशित मिति : १८ श्रावण २०७४, बुधबार ००:००