७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बस्ती र विद्यालय पहिरोको जोखिममा




बागलुङ
। जिल्लाको गलकोट नगरपालिका–११ रिघाको मनेवापाटा बस्ती र बालज्योति आधारभूत विद्यालय पहिरोको जोखिममा छन् ।

मध्यपहाडी पुष्पलाल लोकमार्गको माथिबाट खसेको पहिरोले जोखिम निम्त्याएको हो । गत फागुनमा सोही स्थानमा सुक्खा पहिरो जाँदा दरमखोला थुनिएको थियो । वर्षा लागेपछि पहिरोको कटान झन बढ्दै जाँदा माथि रहेको बस्ती नै अन्यत्र सार्नुपर्ने अवस्था देखिएको छ ।

पहिरोका कारण आठ घर र नजिकैको विद्यालयमा असर पारेको छ । वर्षापछि पहिरो झन थपियो, बस्तीकै छेउबाट ३०० मिटर तलसम्म पहिरो खसेकाले बस्ती नै स्थानान्तरण गर्नुपर्ने अवस्था आएको भन्दै वडाध्यक्ष डम्बर श्रीसले पहिरोको जोखिम कम गर्न र स्थानीय बासिन्दाको सुरक्षित बासको लागि वडा कार्यालयले पहल गर्ने बताए ।

दरमखोला नै थुन्ने गरी गत फागुनमा पहिरो गए यता स्थानीयवासी त्रासमा छन् । पानी पर्नासाथ खसिरहने पहिरोले मध्यपहाडी लोकमार्गको यात्रासमेत असहज पारिदिएको छ । दैनिकजसो अवरोध खुलाउँदै सवारीसाधन चलाउनुपर्ने बाध्यता छ । यात्रु पनि जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । पहिरोले ठूलो क्षेत्रफल ओगटेको हुँदा तत्काल रोकथामको उपाय अपनाउन पनि कठिन देखिन्छ ।

लोकमार्गको स्तरोन्नतिको क्रममा यो वर्ष भएको सडक विस्तारका कारण पनि वर्षा लागेसंगै ठाउँठाउँमा पहिरो गएको छ । पहिरोले मनेवा फाँटको सिँचाइलाई पनि प्रभावित पारेको सोही ठाउँका किसान शेरबहादुर श्रीसले बताए । गत फागुनकै सुक्खा पहिराले ९० रोपनी क्षेत्रफलको मनेवा फाँट पुग्ने जलकुनी सिँचाइ आयोजना भत्केको थियो । श्रीसका अनुसार उक्त फाँटमा अहिले किसानले रोपाइँ समेत गर्न पाएनन् ।

“सिँचाइ नभएकाले सबै किसानले यो वर्ष धान नरोपी कोदो रोपेका छन्” श्रीसले भने, “ सिँचाइ रोकिँदा किसान मर्कामा परेका छन् ।” गएको फागुन २२ गते सोही ठाउँमा गएको सुक्खा पहिरोले स्थानीय दरमखोला थुनिँदा ठूलो जलाशय बनेको थियो ।

स्थानीय बासिन्दाले राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गलाई समेत जोखिममा पारेको पहिरोको दीर्घकालीन रोकथाम हुनुपर्ने आवाज उठाएका छन् । उक्त लोकमार्ग हुँदै जिल्लाको पश्चिम भेग र छिमेकी जिल्लाका यात्रुसमेत आवातजावत गर्छन् ।
रासस

प्रकाशित मिति : १० श्रावण २०७४, मंगलबार ००:००