१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तीन जिल्ला जोड्ने नेपालकै नमूना पुल निर्माणमा ढिलाइ




रामपुर
(पाल्पा) । तीन जिल्ला जोड्ने नेपालकै पहिलो र नमूना पुल निर्माण कार्यमा ढिलासुस्ती हुँदा जनताले सास्ती भोग्नुपरेको छ । पाल्पा, गुल्मी र स्याङजा जिल्लालाई जोड्ने कालीगण्डकी नदीमाथि रिडीमा निर्माण हुन लागेको नेपालको पहिलो र नमूना पुल समयमै निर्माण कार्य पूरा नहुँदा यहाँका स्थानीयवासी आक्रोशित बनेका छन् ।

निर्माण कार्य सम्पन्न हुने समयमा पुलको पिल्लर निर्माण कार्यले गति लिन नसक्दा पुल निर्माण कार्य कछुवाको गतिमा रहेको छ । नेपाल सरकारका तत्कालीन मुख्य–सचिव लीलामणि पौडेल र गुल्मीका सभासद चन्द्र भण्डारीले २०७१ मङ्सिर १५ गते सो पुलको शिलान्यास गरेका थिए । निर्माण कम्पनीले निर्माण कार्यलाई निरन्तरता नदिँदा पुल बन्ने आशा अहिले निराशामा परिणत भएको स्थानीयवासीले गुनासो गरेका छन् ।

नेपालको चारधाममध्ये रुरु क्षेत्रको रिडीमा निर्माण हुन लागेको नेपालकै पहिलो र नमूना तीनमुखे पुल ९ करोड ८८ लाख २६ हजारको लागतमा २०७४ को असार मसान्तमा निर्माण कार्य पूरा गर्ने गरी नयाँ बाटो ‘रुबिना मना जेभी’ कम्पनीले ठेक्का सम्झौता गरेको थियो । ५४० मिटर लम्बाई रहने पुलको लागि स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागको आर्थिक तथा प्राविधिक सहयोगमा पुल निर्माण कार्य अगाडि बढाइएको हो ।

निर्माण कम्पनीका प्रतिनिधि महेन्द्र अधिकारीका अनुसार कालीगण्डकी नदीको बीच भागमा सात सय मिटर गोलाइ रहेको पिल्लर निर्माणको क्रममा छ । पहिलो वर्ष पुलको डिजाइनमै बित्यो, अर्को वर्ष विनाशकारी भूकम्प, नाकाबन्दीका कारण कामले गतिलिन नसकेको उनले बताए ।

पुनःम्याद थप गरेरै भए पनि निर्माण कार्य सम्पन्न गर्ने उनको भनाइ छ । नेपालकै राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको सडकखण्डसंगै धार्मिक क्षेत्र रुरु क्षेत्रमा बन्न लागेको पुलले यस क्षेत्रको पर्यटन प्रवर्धनमा समेत सहयोग पुग्ने आशामा बसेका यहाँका स्थानीय बासिन्दा अब पुल बन्छ या बन्दैन भन्नेमा शङ्का गर्न थालेको स्थानीयवासी रेनुका रानाले गुनासो गरिन् ।

कति लागत, कहिले योजना सम्झौता भयो, कहिले सम्पन्न गर्ने, निर्माण कम्पनीको नाम र ठेगाना, कम्पनीले गर्नुपर्ने कामको विवरण भएको होडिङ बोर्डमार्फत सर्वसाधारणलाई जानकारी दिनुपर्ने ऐन नियममा व्यवस्था भए पनि निर्माण कम्पनीले होडिङ बोर्ड नै नराख्दा सर्वसाधारण पुल निर्माणसम्बन्धी सूचना प्राप्त गर्नबाट वन्चित भएका छन् ।

निर्माण कम्पनीले सरकारी मापदण्डअनुसार निर्माण सामग्रीको प्रयोग नगरेको र सरकारी इञ्जिनियरलाई आफूले कहिल्यै पनि नदेखेकाले गुणस्तरीय रुपमा निर्माण हुनेमा आफू विश्वस्त नभएको स्थानीयवासी प्रकाश श्रेष्ठ बताउछन् । रासस

प्रकाशित मिति : ४ श्रावण २०७४, बुधबार ००:००