धनगढी । कैलालीको पहाडी क्षेत्रको चुरे गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका प्रत्यासी विजयी भएका छन् ।
एमालेका धनबहादुर रोक्कामगर दुई हजार ५६१ मत प्राप्त गरी अध्यक्षमा विजयी भएको निर्वाचन अधिकृत कृष्णबहादुर बोहराले बताए । विजयी रोक्कामगरका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका टीकाराम ढुङ्गानाले दुई हजार ३६६ मत प्राप्त गरेका छन् ।
यस्तै, गाउँपालिकाको उपाध्यक्षमा एमालेकै दीपा साउदले दुई हजार ६११ मत प्राप्त गरी विजयी भएकी छन् । उनकी निकटतम प्रतिद्वन्दी कांग्रेसका धना थापामगरले दुई हजार ३७६ मत प्राप्त गरेकी छन् ।
कैलालीकै जोशीपुर गाउँपालिकाको अध्यक्षमा कांग्रेसका रामकृष्ण चौधरी तीन हजार ४३२ मत र उपाध्यक्षमा कांग्रेसकै गीता कठरिया तीन हजार ५६८ मत प्राप्त गरी विजयी भएका छन् । कैलालीका १३ स्थानीय तहमध्ये १२ तहको निर्वाचनको मतगणना जारी रहेको छ ।
यता ७ नं प्रदेशको एकमात्र उपमहानगर धनगढीको पछिल्लो मत परिणामअनुसार कांग्रेसका प्रमुखका प्रत्यासी नृप ओडले दुई हजार ६६१ मत र उपप्रमुखमा सुशीला मिश्र भट्टले दुई हजार ९५५ले अग्रता लिइरहेका छन् । प्रमुखमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले दुई हजार १२६ मतले पछ्याइरहेका छन् । प्रमुखमा एमालेका दुर्गा जोशीले दुई हजार पाँच मत ल्याएका छन् । उप्रमुखमा एमालेकी रुक्मिणी देवकोटाले दुई हजार ५२१ मत प्राप्त गरेकी छन् ।
शनिबार साँझसम्मको मतगणनामा कैलालीको धनगढी उपमहानगर, लम्कीचुहा नगरपालिका, जानकी गाउँपालिका र कैलारी गाउँपालिकामा कांग्रेसले, गोदावरी नगरपालिका र बर्दगोरिया गाउँपालिकामा एमाले, टीकापुर नगरपालिका र भजनी नगरपालिकामा नेपाल लोकतान्त्रिक फोरमले र गौरीगङ्गा नगरपालिका, मोहन्याल गाउँपालिका र घोडाघोडी नगरपालिकामा माओवादी केन्द्रले अग्रता लिएका छन् । रासस
प्रतिक्रिया