१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रुपन्देही, बाँके र रोल्पा जिल्लामा मतगणना सुरु



बुटवल । स्थानीय तह निर्वाचनको बुधबार भएको मतदानको बिहिबार बिहानैदेखि रुपन्देहीका सबै तहमा गणना सुरु भएका छन् ।

मतदान सकिएर मतपेटिका गणनास्थलमा सङ्कलन हुन बुधबार केही ढिलो भएका कारण सर्वदलीय सहमतिमा बिहानदेखि गणना सुरु गरिएको हो । जिल्लाका सिद्धार्थनगर नगरपालिका, देवदह नगरपालिकालगायत केही गाउँपालिकामा भने रातिदेखि नै मतगणना सुरु भएको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख हुमनाथ गौतमले जानकारी दिए ।

जिल्लाका बुटवल उपमहानगरपालिकालगायत अधिकांश स्थानीय तहमा बिहानदेखि मात्र गणना सुरु भएको उनले जानकारी दिए ।

रुपन्देहीका एक उपमहानगरपालिका, पाँच नगरपालिका र १० गाउँपालिकामध्ये बुधबार १५ वटा तहमा निर्वाचन भएको थियो । जिल्लाको कोटहीमाई गाउँपालिका–१ मा माओवादी केन्द्रका उम्मेदवारको केही दिनअघि मृत्यु भएपछि सो वडामा बुधबार मतदान स्थगित भएको छ । स्थगित निर्वाचनको मतदान भोलि शुक्रबार हुने निर्वाचन कार्यालयले जनाएको छ ।

लुम्बिनीः रुपन्देहीको सिद्धार्थनगर नगरपालिका र सम्मईमाई गाउँपालिकामा मतगणना कार्य सुरु भएको छ । सिद्धार्थनगर नगरपालिकामा गए राति १ बजेबाट मतगणना प्रक्रिया सुरु भएको थियो ।

त्यस्तै, रुपन्देहीकै सम्मईमाई गाउँपालिकामा पनि मतगणना जारी छ । मतगणना राति ११ः३० बजेदेखि सुरु भएको थियो । सम्मइमाई गाउँपालिकामा अहिलेसम्म ९०० मत गणना भइसकेको निर्वाचन अधिकृत कमल पन्थीले जानकारी दिए । उनका अनुसार ९०० मत गन्दा नेपाली कांग्रेसले ३५२ सहित अग्रता लिएको छ । सिद्धार्थनगरमा पनि नेपाली कांग्रेस अगाडि रहेको छ ।

खजुरा (बाँके)– बाँके जिल्लाको डुडुवा गाउँपालिका– १ को मतगणना अहिले भइरहेको छ । पछिल्लो ११५ को मतपरिणामअनुसार सङ्घीय समाजवादी फोरमले ४३, नेकाले ३३, माओवादी केन्द्र तीन, नेकपा एमाले एक र राप्रपाले दुई मत ल्याएको छ ।

डुडुवा गाउँपालिकामा गएराति २ बजेदेखि मतगणना सुरु भएको छ । जिल्लाका नेपालगन्ज उपमहानगरापलिका, कोहलपुर नगरपालिका, राप्ती सोनारी, जानकी, बैजनाथ, खजुरा, नरैनापुर गाउँपालिकामा सर्वदलीय बैठक बसेर मतगणना सुरु हुने बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले बताए ।

रोल्पामा मतगणना सुरु

यसैबीच, रोल्पाका दश स्थानीय तहमध्ये हाल तीन स्थानीय तहको मतगणना सुरु गरिएको छ । जिल्लाका सुवर्णावती गाउँपालिका, सुकीदह गाउँपालिका र माडी गाउँपालिकाको मतगणना राति १ बजेदेखि सुरु गरिएको छ ।

मतगणना गरिएका तीन स्थानीय तहमध्ये दुई स्थानमा नेपाली कांग्रेसले अग्रता लिएको छ भने एक स्थानमा माओवादी केन्द्र अगाडि देखिएको छ । नेपाली कांग्रसले सुकीदह र सुवर्णावती गाउँपालिकामा अग्रता लिएको छ भने नेकपा माओवादी केन्द्र माडी गाउँपालिकामा अगाडि रहेको छ । मतगणना हुन बाँकी सबै स्थानीय तहको मतगणनाका लागि सर्वदलीय बैठक भइरहेको सम्बन्धित गाउँपालिकाका निर्वाचन अधिकृतले जानकारी दिएका छन् ।

जिल्लामा ६९.१४ प्रतिशत मत खसेको थियो । जिल्लाको चर्चित थवाङ गाउँपालिकामा पनि तीनहजार ६८२ मत खसेको छ । सो गाउँपालिकामा पाँच हजार ८५३ मतदाता रहेका थिए ।

बाँकेमा मतगणना

यसैगरी, बाँकेमा मतगणना कार्य सुरु भएको छ । जिल्लाको दुरुवा गाउँपालिकामा बिहान २ बजेदेखि मतगणना कार्य सुरु भएको हो भने अन्य सातवटा स्थानीय तहमा बिहान ५ बजेदेखि मतगणना सुरु हुने भनिएपनि अहिलेसम्म सर्वपक्षीय बैठक बसिरहेको छ ।

नेपालगन्ज उपमहानगरपालिकामा रहेका २३ वटा वडाको मतगणना नेपालगन्जस्थित भेरी प्राविधिक शिक्षालयमा हुने भएको छ । कोहलपुर नगरपालिकाको मतगणना १३ वटा वडाको पिपिरीस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा हुने भएको छ ।

खजुरा गाउँपालिका र जानकारी गाउँपालिकाको मतगणना खजुरामा हुने भएको छ । राप्ती सोनारी गाउँपालिकाको मतगणना कचनापुरमा हुने भएको छ ।

नरैनापुर गाउँपालिकाको मतगणना नरैनापुरमै हुने भएको छ । सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालयले बाँकेले जनाएको छ । रासस

प्रकाशित मिति : १५ असार २०७४, बिहिबार ००:००