१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कैलालीमा शान्तिपूर्णरुपमा मतदान सुरु



धनगढी । कैलालीमा स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा बिहानै देखि शान्तिपूर्ण रुपमा मतदान सुरु भएको छ ।

क्षेत्रीय निर्वाचन कार्यालय धनगढीका प्रमुख मोहनप्रसाद अर्यालका अनुसार कैलालीसहित ७ नं प्रदेशका सबै जिल्लामा शान्तिपूर्ण रुपमा उत्साहका साथ मतदान सुरु भएको छ । मतदान साँझ ५ बजेसम्म हुनेछ ।

स्थानीय निर्वाचन झन्डै दुई दशकपछि हुन लागेकाले मतदाता मतदान गर्न निकै आतुर देखिएका थिए । निर्वाचनको समय बिहान ७ बजे भएपनि जिल्लाका अधिकांश मतदान केन्द्रमा मतदाता बिहान ५ बजेदेखि नै लामबद्ध भएका देखिन्थे । दिउँसो गर्मी हुने भएकाले पनि अधिकांश मतदाता बिहानै मतदान केन्द्रमा पुगेका छन् ।

प्रत्येक मतदान केन्द्रमा कम्तीमा पाँच देखि बढीमा छजना कर्मचारी खटिएको क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख आर्यालले बताए । जिल्लाका स्थानीय तहमा २३१ वटा मतदानस्थल र ४९० मतदान केन्द्रको व्यवस्था गरिएको छ ।

जिल्लामा धनगढी उपमहानगरपालिका, टीकापुरनगरपालिका, लम्कीचुहा नगरपालिका, भजनी नगरपालिका, गौरीगङ्गा नगरपालिका, गोदावरी नगरपालिका, घोडाघोडी नगरपलिका, कैलारी गाउँपालिका, बर्दगोरिया गाउँपालिका, चुरे गाउँपालिका, मोहन्याल गाउँपलिका, जानकीनगर गाउँपलिका, र जोशीपुर गाउँपालिका गरी १३ स्थानीय तह रहेका छन् ।

उक्त सबै तहका ६८९ पदका लागि जम्मा तीन हजार ४४६ जना चुनावी प्रतिस्पर्धामा छन् । कैलालीमा कुल चारलाख तीनहजार २८० मतदाता रहेकामा सबैभन्दा बढी धनगढी उपमहानगरपालिकामा ७६ हजार ४३० मतदाता रहेका छन् ।

निर्वाचन आयोगले कैलाली जिल्लाका स्थानीय तह निर्वाचनको प्रयोजनका लागि ४४ वटा चुनाव चिन्ह समावेश गरिएको मतपत्रको व्यवस्था गरेको छ ।

निर्वाचनको समयमा सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरी मतदान केन्द्रलाई अति संवेदनशील, संवेदनशील र सामान्य गरी तीन तहमा राखेर सुरक्षा व्यवस्था सुदृढ पारिएको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताए । रासस

प्रकाशित मिति : १४ असार २०७४, बुधबार ००:००