८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आवश्यक परे हेलिकप्टरबाट मतपेटिका ढुवानी, सीमानाका बन्द



बैतडी । यही असार १४ गते हुन गइरहेको स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि बैतडीमा सर्वपक्षीय बैठक सम्पन्न भएको छ ।

प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलको अध्यक्षतामा बसेको बैठकमा मुख्य निर्वाचन अधिकृत, निर्वाचन आयोगले खटाएको अनुगमन समितिका संयोजक, राजनैतिक दलका प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

बैठकमा चुनावको सुरक्षा व्यवस्था पूर्ण तयार भएको जानकारी गराइएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

यस्तै, मौन अवधि शुरु भएकाले मौन अवधिको पूर्ण पालनाका लागि आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए ।

मतदान सम्पन्न भइसकेपछि केही स्थानका मतपेटिकाहरु हेलिकोप्टरबाट ढुवानी गर्ने अवस्था आएमा हेलिकोप्टरमा एजेण्टहरुका लागि ठाउँ नहुने भएकाले एजेण्टबिना हेलिकोप्टरबाट मतपेटिका ढुवानी गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

सीमानाका बन्द

स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरेर सोमबार देखि भारतसंग सीमा जोडिएको झुलाघाट नाकामा आवतजावत बन्द गरिएको छ । निर्वाचन सुरक्षालाई ध्यानमा राखेर सीमा नाकामा आवतजावत बन्द गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए ।

भारतसंग सीमा जोडिएको नाकाबाट चुनावी सुरक्षालाई प्रभाव पार्न सक्ने गतिविधि हुनसक्ने भन्दै सीमानाका बन्द गरिएको हो । सोमबार देखि असार १५ गते बिहान ७ बजेसम्म सीमानाका बन्द रहनेछ ।

इलामका सीमा नाकाहरू पनि बन्द

यसैबीच, इलामबाट प्राप्त समाचार अनुसार दोस्रो चरणको स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै भारतसंग सीमा जोडिएका इलामका सीमा नाकाहरू ७२ घण्टाका लागि बन्द गरिएको छ ।

भारतसंग सीमा जोडिएका पूर्वका पशुपतिनगर, छब्बिसे, हिले, मानेभञ्ज्याङ लगायतका एकदर्जन भन्दा बढी नाका बन्द गरिएको हो । निर्वाचनको समयमा सीमा क्षेत्रबाट कुनैपनि अप्रिय घटना नहोस् र निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित तरिकाले सम्पन्न गर्न सीमा नाका बन्द गरिएको सुरक्षा समितिका संयोजक प्रजिअ जनकराज दाहालले बताए ।

दाहालका अनुसार जिल्ला सुरक्षा समितिले अहिले निर्वाचनलाई भयरहित र निष्पक्ष गर्ने उद्देश्यले सुरक्षा रणनीति पनि तयार पारिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी सीमा क्षेत्रमा तैनाथ छन् ।

सीमा क्षेत्रमा लागुऔषध नियन्त्रण, मदिरा निषेध, हातहतियार ओसारपसार, आपराधिक गतिविधि, चोरी तस्करीलगायत घटना हुन नदिन विशेष निगरानी बढाइएको सुरक्षा समितिले जनाएको छ । रासस

प्रकाशित मिति : १२ असार २०७४, सोमबार ००:००