Logo

भयरहीत वातावरणमा निर्वाचन सम्पन्न हुने विश्वास



विराटनगर । आसन्न दोस्रो चरणको निर्वाचनमा सुरक्षाको राम्रो प्रबन्ध भएकाले मतदाताले भयरहीत वातावरणमा मतदान गर्ने राष्ट्रिय मानव अधिकार आयोगले जनाएको छ ।

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदिप पाठकको नेतृत्वमा आएको टोलीले १ नं प्रदेशका विभिन्न जिल्लामा गरेको स्थलगत अनुगमन एवं सुरक्षा निकायसंगको छलफलपछि आयोजित पत्रकार सम्मेलनमा सो धारणा व्यक्त गरेको हो ।

टोलीले १ नं प्रदेशका ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी र धनकुटाको अनुगमन गरेको थियो । आयोगले मतदान प्रक्रिया र मतगणना कार्यलाई पारदर्शी बनाउन सरकार र निर्वाचन अयोगको ध्यानाकर्षण समेत गराएको छ ।

टोलीले मौन समयमा आचारसंहिताको पूर्ण पालना गराउन र मानवअधिकार हननका घटना रोक्न निर्वाचन आयोग सजग एवं चनाखो हुनुपर्नेमा जोड दिएको छ । यस्तै, अपाङ्ग, ज्येष्ठ नागरिक र अशक्त मतदातालाई मतदानस्थलसम्म सहज पहुँचको व्यवस्था गर्न समेत टोलीले आयोगलाई आग्रह गरेको छ ।

सञ्चारकर्मी एवं निर्वाचन पर्यवेक्षकले आचारसंहिताको ख्याल गरेर समाचार सङ्कलन र अनुगमन गर्नुपर्ने टोलीको सुझाव छ । अनुगमनका क्रममा सबै जिल्लामा सुरक्षा व्यवस्था भरपर्दो भएको, शान्तिपुर्णरुपले दलहरुले चुनाव प्रचारप्रसारमा सहभागी भएको पाइएको टोलीद्वारा जारी प्रतिवेदनमा उल्लेख छ ।

केही जिल्लामा दल एवं उम्मेदवारले चुनाव प्रसारका क्रममा केही स्थानमा आचारसंहिता उल्लङ्घन गरेको पाइएको टोलीले जनाएको छ । यस्तै, आगामी दिनमा मतदातालाई निर्वाचन शिक्षा पर्याप्तरुपमा गर्न समेत टोलीले निर्वाचन आयोगलाई सुझाव दिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्