१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तीन दिनभित्र ‘जिल्ला समन्वय समिति’ सदस्य सङ्ख्या निर्धारण गर्न निर्देशन



काठमाडौँ । निर्वाचन आयोगले गाउँसभा र नगरसभाको निर्वाचन सम्पन्न भएका जिल्लामा तीन दिनभित्र जिल्लासभाको बैठक बोलाई जिल्ला समन्वय समिति (जिसस)मा रहने सदस्य सङ्ख्या निर्धारण गर्न निर्देशन दिएको छ ।

आयोगले जिल्लासभाको पहिलो बैठकबाट जिससमा रहने सदस्य सङ्ख्या निर्धारण गरी त्यसको जानकारी आयोगमा पठाउन सम्बन्धित जिल्लाका स्थानीय विकास अधिकारीलाई निर्देशन दिने गरी आदेश जारी गर्ने निर्णय गरेको हो । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवको अध्यक्षतामा आइतबार बसेको बैठकले निर्वाचन आयोग ऐन, २०७३ बमोजिम त्यस्तो आदेश जारी गर्ने र जारी गरिएको आदेश नेपाल राजपत्रमा अतिरिक्ताङ्क गरी प्रकाशन गर्ने निर्णय गरेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।

प्रचलित सङ्घीय कानुनमा जिल्लासभाको बैठक कसले बोलाउने भन्ने किटानी व्यवस्था नभएकाले जिल्लासभाको बैठक बसी सङ्ख्या निर्धारण नभएसम्म जिल्ला समन्वय समितिको निर्वाचनसम्बन्धी कारबाही अगाडि बढाउन नसकिने देखिएपछि आयोगले त्यस्तो आदेश जारी गर्ने निर्णय गरेको बताइएको छ ।

नेपालको संविधानको धारा २२० को उपधारा (३) मा जिल्लासभाले बढीमा नौ सदस्य रहेको जिल्ला समन्वय समितिको निर्वाचन गर्ने व्यवस्था रहेको र सो प्रयोजनका लागि जिल्लासभाको बैठक बसी सदस्य सङ्ख्या निर्धारण गर्नुपर्ने प्रावधान छ । साथै सोही धाराको उपधारा (२) बमोजिम गाउँसभा र नगरसभाको निर्वाचनको अन्तिम परिणाम प्राप्त भएको मितिले ३० दिनभित्र जिल्लासभाको बैठक बस्ने व्यवस्था छ । रासस

प्रकाशित मिति : १२ असार २०७४, सोमबार ००:००