१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मतदाता परिचयपत्र वितरण सुरु



काठमाडौँ । यही असार १४ गते बुधबार दोस्रो चरणमा हुने स्थानीय तहको निर्वाचनका लागि १, ५ र ७ नं प्रदेशका ३५ जिल्लामा आज (आइतबार) बिहानदेखि सम्बन्धित मतदान केन्द्रबाट मतदाता परिचयपत्र वितरण सुरु भएको छ ।

मतदाता परिचयपत्र असार ११, १२ र १३ गते तीन दिनसम्म सम्बन्धित मतदान केन्द्रबाट निर्वाचनमा सहभागी हुने ६४ लाख ३२ हजार ७६५ मतदातालाई प्रदान गरिने आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए । निर्वाचनमा खटिएका मतदान अधिकृतसहितको टोलीले चार हजार ५८१ मतदानस्थलबाट मतदाता परिचयपत्र वितरण गरिरहेका छन् ।

प्रवक्ता शर्माका अनुसार मतदाता परिचयपत्रसंगै सही तरिकाले मतसङ्केत गर्न सिकाउन हरेक मतदान केन्द्रमा कम्तीमा एक मतदाता शिक्षा कार्यकर्तालाई खटाइएको छ । मतदाता शिक्षा कार्यकर्ताले नमुना मतपत्रमा मतसङ्केत गर्न सिकाउनेछन् । मतदातालाई मतसङ्केत गर्न सजिलो होस् भन्ने उद्देश्यले सक्कली मतपत्रसमेत मतदान केन्द्रमा अवलोकनका लागि राखिएको जनाइएको छ ।

मतदाता स्वयं मतदानस्थलमा गएर सही रुपमा कसरी मतसङ्केत गर्ने भन्नेबारेमा जानकारी लिएर मतदाता परिचयपत्र प्राप्त गर्न सकिने व्यवस्था आयोगले मिलाएको छ । कारणवश मतदाता जान नसक्ने अवस्थामा एकाघरको परिवारको सदस्य भएको यकिन गरी परिवारका सदस्यलाई परिचयपत्र दिने व्यवस्था गरिएको छ । रासस

प्रकाशित मिति : ११ असार २०७४, आइतबार ००:००